जोडिनुहोस
बिहिबार, कार्तिक ११, २०७८
बिहिबार, कार्तिक ११, २०७८
alt
  • होमपेज
  • भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, मंसिर २२ – भरतपुर बाइपास सडक विस्तार कार्यमा चरम लापरवाही भएको पाइएको छ । कुल साढे चार किलोमिटर रहेको यस सडकको बसपार्कदेखि विशालचोकसम्मको २२ सय मिटर सडक विस्तारको काम सुरु भएको चार वर्ष भयो । विस्तारको काम चार वर्षमा पनि सम्पन्न नहुँदा सबैको ध्यान यस सडकमा केन्द्रित भएको छ । सडकमा यात्रा गर्ने यात्रु, सवारी चालकले निकै सास्ती खेप्नु परेको छ । उनीहरुले पटकपटक गुनासो गर्दै आए पनि सरोकारवाला निकायहरुले कहिल्यै काममा तीव्रता दिन लागेनन् ।

सडक डिभिजन कार्यालय चितवनले ठेकेदारको ढिलासुस्ती भयो भनेर जिम्मेवारीबाट पन्छिने काम मात्र गरेको छ । ठेक्का सम्झौता पाएको गौरी पार्वती निर्माण सेवाले कुनै लाज र डर नमानी पटकपटक म्याद थपको लागि आग्रह गरिरह्यो । सडक डिभिजनले पनि कुनै कारबाही गर्न नसकी पटकपटक म्याद मात्र थपिदिइरह्यो ।

२०७३ पुसमा १५ महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको उक्त सडकखण्ड निर्माणको लागि हालसम्म दुई पटक म्याद थप भइसकेको छ । यसअघि ठेक्का आह्वान भएको उक्त आधा खण्डको २०७६ चैतसम्म अन्तिम पटकका लागि म्याद थप भएको थियो । सो अवधिमा पनि काम नसके नियमअनुसार कारबाही गर्ने सडक डिभिजन कार्यालयले जनाएको थियो । तर कारबाही नगरी कोरोना भाइरस (कोभिड– १९) को बहानामा पुनः ६ महिना म्याद थपिदिएको थियो । उक्त म्याद सकिँदा पनि अहिले काम सम्पन्न भएको छैन । सात जना जति कामदार आइतबार सडकमा डिभाइडर राख्दै गरेका देखिन्थे ।

अहिले विशाल चोकदेखि केन्द्रिय बसपार्कसम्मको सडकको अवस्था बिजोग छ । अति व्यस्त सडक विस्तारमा भइरहेको ढिला सुस्तीले सबैलाई सास्ती भएको छ । सडकमा धुलो त्यस्तै उडिरहन्छ । खाल्डाखुल्डी पनि त्यत्तिकै छन् । पिच बनिसकेको सडकमा पनि खाल्डा खुल्डी छन् । अहिले दिउँसोको समयमा पानी हालेर धुलो उड्नबाट रोकने काम भए पनि पानी सुकेपछि सडकमा धुलो उड्न थाल्छ । उक्त सडकमा यात्र गर्ने यात्रु, म्याजिक चालक, अटो चालक, मोटर साइकल चालकले निकै दुःख खेप्नु परेको गुनासो गरेका छन् ।

उक्त सडकमा दैनिक यात्रा गर्ने मोटरसाइकल चालक कृष्ण भट्टराईले खाल्डाखुल्डी र धुलोले गर्दा यस सडकमा मोटरसाइकल यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभयो । ट्रक र टिपर धेरै हिड्ने भएका कारण मोटरसाइकल चालकलाई खाल्डाखुल्डी र त्यसमाथिको धुलोले दुर्घटनाको जोखिम रहेको उहाँले बताउनुभयो । रातिको समयमा खाल्डोले गर्दा मोटरसाइकल चलाउन निकै सास्ती हुने गरेको उहाँले बताउनुभयो । धुलो नउडोस् भनेर दिउँसो एकछिन पानी हालेर मात्र समस्या समाधान नहुने भन्दै उहाँले काममा तीव्रता दिनुपर्ने बताउनुभयो ।

दुई वर्षदेखि भरतपुरको रिंगरोडमा म्याजिक चलाउँदै आएका म्याजिक चालकले ठाउँठाउँमा खाल्डाखुल्डी हुँदा गाडी चलाउन निकै गाह्रो भएको बताउनुभयो । ‘गाडी घचकघचक गरेर झार्नुपर्छ । उकाल्नु पर्छ । उतबाट गाडी आएको हुन्छ । खाल्डाखुल्डी छ । धुलो छ । त्यहीँ बाइक आउँछ । त्यहीँ साइकल आउँछ । ट्रक आउँछ । कता ठोकिने हो भन्ने डर छ’ उहाँले भन्नुभयो, ‘प्रशासन र मालपोत अगाडि बढी खाल्डो छ । त्यहीँ मानिसको भीड हुन्छ । त्यहीँ धुलो उड्छ ।’

सडकमै भेटिएका अटो चालकले पनि त्यस्तै आक्रोस पोख्नुभयो । ‘बाटो बनाउन लागेको पनि धेरै भइसक्यो । काहीँ पिच बनाएको छ । काहीँ भत्काएको छ । कहीँ खाल्डो । काँही बाटो बलक गरेको छ । बलक गरेको ठाउँमा मोड्दा ठोकिन सक्छ । यहाँ गाडी भटाभट चलिराखे छन्, उहाँले भन्नुयभयो, ‘पहिला साँघुरो भएर दुःख पाइयो । गाह्रो थियो । अहिले खाल्डो र धुलोले सास्ती भएको छ । हामी सानो गाडीले झनै दुःख पाएका छौं ।’

सडक डिभिजन कार्यालयकी इञ्जिनियर आशिका पोखरेलले उक्त सडकखण्डमा अझै २० प्रतिशत काम बाँकी रहेकोे बताउनुभयो । अझै म्याद थपको लागि निर्माण कम्पनीले चिठी पठाएको उहाँले जानकारी दिनुभयो । सडक निर्माणमा निर्माण कम्पनीबाट धेरै नै ढिलासुस्ती भएको स्वीकार्दै इञ्जिनियर पोखरेलले अब म्याद थप्ने वा कारबाही गर्ने भन्नेबारे निर्णय भइनसकेको बताउनुभयो ।

गौरी पार्वती निर्माण सेवाका प्रतिनिधि दिपक कोइरालाले अन्य निकायहरुलाई आरोप लगाउँदै आँफू पन्छिने काम गर्नुभयो । उहाँले सडक निर्माण ढिला हुनुमा विद्युत् प्राधिकरणले पोल समयमै नसार्नु, खानेपानी व्यवस्थापन बोर्डले पानीको पाइप नसार्नु, वन कार्यालले रुख समयमा नकाट्नु कारणका रुपमा प्रस्तुत गर्नुभयो । तर, १५ महिनामा सक्छु भनेर ठेक्का सम्झौता गर्ने गौरी पार्वती निर्माण सेवाले चार वर्ष पुग्न लागिसक्दा पनि काम नसक्नुमा आफ्नो कमजोरी नठानेर गैरजिम्मेवारी पन प्रस्तुत गरेको छ ।

2 प्रतिक्रिया on “भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका