Breaking News

निजी कलेजमा विद्यार्थी पठाउन चितवनको स्कुल अफ हेल्थ साइन्सको सेटिङ्ग, अझै खुलाएन भर्ना

  • Logo
    app haru
  • १४ आश्विन २०७८, बिहिबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’ 

चितवन, असोज १४ –
स्कुल अफ हेल्थ साइन्स भरतपुर चितवनले भर्ना नखुलाउँदा विद्यार्थी अन्यौलमा परेका छन् । एसइइ उत्तिर्ण गरेर स्कुल अफ हेल्थ साइन्समा अध्ययन गर्नका लागि आवेदन दिएका विद्यार्थीहरु कलेजले भर्ना नखुलाउँदा पढ्न पाइने की नपाइने हो भन्ने कुरामा अन्यौल परेका हुन् ।

सिटिभिटीको बागमती प्रदेश कार्यालयले असोज ९ गतेदेखि विद्यार्थी भर्ना खुलाउन आह्वान गरि सकेको छ । बागमती प्रदेश अन्तर्गत सञ्चालित सिटिभिटीको आंगिक, साझेदारी, सामुदायिक, विद्यालयहरु र निजी स्तरमा सञ्चालन स्वीकृत पाएका शिक्षणसंस्थाहरुलाई भर्ना खुलाउन आह्वान गरिएको थियो । स्कुल अफ हेल्थ साइन्स सिटिभिटीको आंगिक कलेज हो ।

चितवनमा सञ्चालित सबै निजी शिक्षणसंस्था (कलेज) हरुले ९ गतेबाटै भर्ना खुलाए । उनीहरुले धमाधम विद्यार्थीहरु भर्ना लिइरहेका छन् । तर सरकारी शिक्षण संस्था स्कुल अफ हेल्थ साइन्समा अझै भर्ना खुलाइएको छैन ।

सामान्य चिकित्सा (एच ए), मेडिकल ल्याब, फार्मेसी, डाइग्नोष्टिक रेडियोग्राफी, फिजियोथेरापी, डेण्टल साइन्स, अप्थाल्मिक साइन्स गरी ७ वटा शैक्षिक कार्यक्रमका लागि प्रदेशभर एकैपटक भर्ना खुलाउन भनिएको हो । यस्ता विषयहरु निश्चित विद्यार्थीहरुलाई मात्र पढाउने गरिन्छ ।

भर्नाको समायवधि यही असोज २४ गतेसम्म रहेको छ । जसले गर्दा सरकारीमा भर्ना गर्न चाहने विद्यार्थीहरु पनि निजीमा जान थालेको पाइएको छ । नारायणी अनलाइन समाचार स्रोतका अनुसार सरकारीमा अझै भर्ना नखुलेकाले विद्यार्थीहरुमा अन्यौलता सिर्जना हुँदा निजीमा भर्ना भइरहेका छन् । विद्यार्थीलाई निजीमा पठाउनका लागि हेल्थ साइन्सकी प्रमुख रजनी मल्लको समेत मिलेमतो देखिन्छ । प्रमुखले आफ्नो पदको अहमता प्रस्तुत गर्दै नयाँ खोल्ने विषयमा सरोकारवालाको सुझाव समेत वेवास्ता गर्ने गरेकी छिन् ।

गत भदौ ४ गतेदेखि १८ गतेसम्म शैक्षिक वर्ष २०७८/७९ का लागि प्रमाणपत्र तथा डिप्लोमा तहमा प्रवेश परीक्षा आवेदन फारम खुलाइएको थियो । जसअनुसार स्कुल अफ हेल्थ साइन्सबाट २ हजार ८०० ले आवेदन दिएको कलेजले जनाएको छ । उक्त कलेजमा २८८ जनाले मात्र पढ्न पाउने कोटा छ । कोरोना महामारीका कारण अनलाइनबाट आवेदन दिन लगाइएको थियो । आवेदन दिइएका विद्यार्थीहरुलाई प्रवेश परीक्षा (इन्ट्रान्स इक्जाम) लिइएको थिएन । इन्ट्रान्सको सट्टामा एसएलसी/एसइइ/प्राएसएससी तहको परीक्षामा प्राप्त गरेको अंकका आधारमा विद्यार्थी छनौट गरिएको थियो ।

सम्बन्धित शिक्षण संस्थाहरुले नै उच्च अंक प्राप्त गरेका आधारमा विद्यार्थीहरुलाई छुट्याएर प्रदेशमा पठाएका थिए । जसलाई रुजु गरेर प्रदेशबाट नामावली प्रकाशित गरिएको छ । नामावली प्रकाशितसँगै प्रदेशले ९ गतेबाट २४ गतेसम्म भर्ना गराउन निर्देशन दिएको छ । उक्त निर्देशन हेल्थ साइन्सले अझै पालना नगरेको हो ।

तीन वर्षे शैक्षिक कार्यक्रमका यी विषयहरु सरकारी कलेज हेल्थ साइन्समा सहुलियत दरमा पढ्न पाइन्छ । हेल्थ साइन्समा ४८ देखि ५२ हजार रुपैयाँ तीन वर्षको शुल्क हुन्छ भने निजीमा ४ लाख ४ हजार रहेको छ ।

सकभर विद्यार्थीहरु सहुलियत दरमा सरकारीमै पढ्न चाहन्छन् । तर भर्ना नै ढिलो खुलाएपछि विद्यार्थीहरु निजीमा जाने र सरकारीमा कोटा खाली हुने अवस्था आउने स्रोतले बतायो ।

एउटै विद्यार्थीले निजी र सरकारीसहित धेरै कलेजबाट प्रवेश परीक्षा फारम भरेका हुन्छन् । उनीहरु सकभर सरकारीमा भर्ना हुन चाहन्छन् । यदि सरकारीमा रहेको २८२ वटै कोटामा विद्यार्थीको संख्या पुगेको अवस्थामा निजी कलेजहरुमा कोटा खाली हुन्छ । ‘तसर्थ पहिलो निजीमा कोटा पूरा गराएपछि सरकारीमा खुलाउने र बरु सरकारी कलेजमा कोटा खाली गराउने उद्देश्य लुकेको हुन्छ रे’ एक अभिभावकले दुखी हुँदै भने । यसरी सरकारी संस्थामा भर्नामा ढिलाइ गरेर निजी कलेजहरुबाट ठूलो रकम लिने गरिएको हुनसक्ने ती अभिभावकको गुनासो छ ।

हेल्थ साइन्सकी प्रमुख रजनी मल्लले केही विद्यार्थीहरुको प्राप्तांक र कोटा फरक पर्न गएकाले ढिलो हुन गएको बताएकी छिन् । तर सिटिभिटीको सूचनामा भनिएको छ, ‘प्रशिक्षार्थीहरुको प्राप्तांकमा फरक पर्न गइ वा नतिजा तयारीमा कुनै किसिमको त्रुटी देखिन आएमा सो को जिम्मेवार सम्बन्धित शिक्षण संस्थाहरु नै हुने छन् ।’

तर यसलाई विश्वास गर्न सकिने आधार देखिँदैन । यसरी एउटा मात्र विद्यार्थीको प्राप्तांक फरक पर्न गएमा सबैलाई असर गर्ने भएकाले यो कुनै कारण हुन नसक्ने स्रोतले बतायो ।

प्रमुख मल्लले आफूहरुले भर्ना खुलाउने तयारी गरिरहेको र आजभोलिमै भर्ना खुलाउने बताएकी छिन् । भर्ना खुलाउन ढिलो भएको स्वीकार गर्दै उनले तर निजीमा विद्यार्थी पठाउने कुनै षड्यन्त्र नभएको दाबी गरेकी छिन् । आफूहरुको उद्देश्य सरकारीका सबै कोटामा विद्यार्थीहरु भरिउन भन्ने नै रहेको उनको जिकिर छ ।

प्रदेशको शिक्षण संस्थामा भर्ना सम्बन्धी सूचना :

 

प्रवेश परीक्षा (इन्ट्रान्स इक्जाम) भर्ना आवेदन सम्बन्धी सूचना :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>