Breaking News

वल्डलिंकले दियो इन्जिनियरको घर फुटाउने धम्की, चितवनमा ठूला इन्टरनेट कम्पनीले तिरेनन् पोल भाडा

  • Logo
    app haru
  • २० भाद्र २०७८, आइतबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ २० –
चितवनमा ठूला इन्टरनेट तथा केबल कम्पनीहरुले पोल भाडा तिर्न अटेर गरिरहेको विद्युत प्राधिरकणले जनाएको छ ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिव कुमार सिंहले चितवनमा मात्र सेवा प्रदान सुरु गरेका स्थानीय स्तरका सबै केबल कम्पनीहरुले भाडा तिरेको भए पनि ठूला कम्पनीहरुले भाडा तिर्न अटेर गरिरहेको बताए ।

पाँच वर्षसम्ममा पनि पटकपटक ताकेता गर्दा पोल भाडा नतिरेपछि गत महिना नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र आक्रामक रुपमा प्रस्तुत भएको थियो । प्राधिकरणले पोल भाडा नतिर्ने कम्पनीलाई थप सेवा विस्तारमा रोक लगाएको थियो । उक्त रोकलाई अवज्ञा गरेर पोलमा तार टाँग्न पुग्ने कम्पनीहरुको तारसहित तार टाँग्न प्रयोग गरिने उपकरण प्राधिकरणले खोसेको थियो । यो कार्य अहिले पनि जारी रहेको सिंहले बताए ।

सेवा विस्तारमै रोक लगाएपछि ७ वटा कम्पनीले भाडा तिरेका हुन् । भाडा तिर्नेमा चित्रवन युनिक केवल, कनेक्ट नेपाल, त्रिबेणी केबल नेटवर्क, प्राइम नेटवर्क, फाइबर वल्र्ड कम्युनिकेशन प्रालि, ब्रोड लिंक, वेब सर्फर रहेका छन् । उनीहरुबाट ४१ लख ५९ हजार ४१ रुपैयाँ राजश्व संकलन गरिएको सिंहले बताए ।

पोल भाडा नतिर्नेमा आइएसपिएनमा आवद्ध रहेको ठूला कम्पनीहरु रहेको सिंहले बताए । उनका अनुसार भाडा नतिर्नेमा वल्र्डलिंक, क्लासिक टेक, भाय नेट, डिस होम, सुबिसु, टेकमाइण्डलगायतका विभिन्न कम्पनी रहेका छन् ।

सेवा विस्तारमा रोक लगाउँदा वल्र्डलिंकका कर्मचारी प्राधिकरणका इन्जिनियरलाई धम्क्याएको सिंहले बताए । ‘अस्ति वल्र्डलिंकको मान्छेले हाम्रो इन्जिनियरलाई थर्काएको छ । तेरो घर फुटाल्दिन्छु । गाडी फुटाल्दिन्छु भनेर’ उनले भने, ‘घरमा राति भाको बेला फोन गरेर धम्की आउँछ । घर परिवारमा कति त्रास हुन्छ भन्नु त ?’

‘हामीले घुस मागेको हो र ? सरकारलाई तिर्नुपर्ने राजश्व तिर्नुस भनेका हौं’ उनले भने, ‘पैसा तिर्नुस खादा ओडाएर पठाउँछौं ।’ राज्यले तोकेका राजश्व उठाउने आफूहरुको दायित्व भएको बताउँदै सिंहले विद्युत प्राधिकरण केन्द्रको निर्देशनअनुसार नै सबै गरिरहेको बताए ।

कर तिर्नु सबैको दायित्व भएको बताउँदै सिंहले आफूहरुले पनि तलब खाए बापत राज्यलाई समयमा कर तिर्ने गरेको बताए । ‘राज्यको नियम सबैलाई बराबर होइन र ?’ उनले भने ।

‘जुन एउटा व्यापारी हो । जसले इन्टरनेट लिएबापत जनतासँग मासिक पैसा लिन्छ । तर वर्षैंसम्म राज्यलाई कर बुझाउँदैन’ उनले भने, ‘देशको पैसा बाहिर पठाइरहेको हुन्छ ।’

इन्टरनेट कम्पनीहरुको संस्था आइएसपीएनले विद्युत प्राधिकरणका कारण इन्टरनेटमा समस्या आएको भनेर गलत प्रचार गरिरहेको बताउँदै सिंहले यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गरे । उनले भने, ‘हामीले चालु लाइनलाई छोएका छैनौ । नयाँ विस्तारको काममा राकिदिएका हौं । उहाँहरुलाई तार टाँगिसकेको ठाउँमा मर्मत गर्न रोकेका छैनौं ।’

इन्टरनेट तथा केबल कम्पनीहरुको दादागिरी धेरै नै रहेको उनले बताए । ‘निर्देशिकाअनुसार प्रत्येक किलोकिलोमिटरमा तारमा उहाँहरुको टयाग हुनुपर्छ । तर जथाभावी तार हाल्ने गर्छन् । कस्को कुन तार हो चिनिदैन’ उनले भने, ‘उहाँहरुले कुनै नियम पालना गर्नुभएको छैन । उहाँहरु राज्यभन्दा माथि हुनुहुन्छ ।’

विद्युतीकरणका लागि पोल गाडेको ठाउँमा आफूहरुले तार टाँग्नुभन्दा अघि नै गएर कुनै सम्झौता र जानकारी बिना इन्टरनेट तथा केबल कम्पनीहरुले रातारात तार टाँग्ने गरेको उनले बताए ।

सिंहका अनुसार चितवनमा ०७३ सालपछि कुनै पनि कम्पनीले भाडा तिरेका थिएनन् । चितवनका पोलमा करिब १८/१९ वटा कम्पनीका तार छन् । पछिल्लो समय ७ वटाले मात्र तिरे । अरुले अझै अटेर गरिरहेका छन् ।

पटकपटक चिठी काटेर आग्रह गर्दा वेवास्ता गर्ने, उनीहरुको कार्यालयमा जाँदा पनि नराम्रो व्यवहार गर्ने गरेको सिंहको भनाइ छ ।

भाडा नतिरेसम्म सेवा विस्तारमा रोक लगाइने सिंहले बताए । उनले पछिल्लो समय जफत गरिएका समानहरु सबै भाडा तिरिसकेपछि मात्र कम्पनीहरुलाई फिर्ता गरिने बताए ।

भाडा नतिर्ने कम्पनीको हाललाई सेवा विस्तार (नयाँ तार विस्तार) मात्र रोकिएको बताउँदै सिंहले भाडा तिर्न अझै अटेर गरेमा नियमानुसार कारबाही प्रकृया अघि बढाउने चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार :

चितवनमा तार विस्तार रोकेपछि ५ कम्पनीले तिरे पोल भाडा, १४ वटाले अझै टेरेनन् (नामसहित)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>