Breaking News

चितवनका २२ जना अझै बेपत्ता, फर्कने आशमा पीडित परिवार

Banner

मधुसूदन दवाडी

चितवन, भदौं १४

नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा चितवनका २२ जना अझै बेपत्ता रहेका छन् ।

विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुगिसक्दा पनि अहिलेसम्म बेपत्ताको अवस्था सार्वजनिक हुन नसक्दा बेपत्ता हुनेका परिवार पीडामा परेका हुन् । राज्यबाट सत्यतथ्य सूचना पाउन नसक्दा उनीहरु अझै परिवारको सदस्य फर्कन्छन् कि भनेर बाटो हेरेर बसिरहेका छन् ।

बेपत्ता परिवार समाज चितवनकी अध्यक्ष निशा न्यौपानेले चितवन जिल्लाका १९ जना र बाहिरबाट बसाइ सरेर आएका तीन जना गरी चितवनमा २२ जना बेपत्ता रहेको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनको बुबा भरतपुर महानगरपालिका–१३ का दण्डपाणी न्यौपानेलाई २०५६ सालमा काठमाडौँको सुन्धाराबाट राज्य पक्षले बेपत्ता पारेको हो । उनले आफू १५ वर्षको हुँदा बुबा बेपत्ता भएकोले पनि बारम्बार बुबाको याद र झझल्को आइरहने बताइन् । उनले भनिन्, ‘ अहिले पनि नाती, नातिनाहरुले बुबा कता हुनुहुन्छ भनेर सोधिरहन्छन् । बुबाले सधै असल काम गर्नुपर्छ भनेर सम्झाएको झझल्को आइरहन्छ ।’ अध्यक्ष न्यौपानेले बेपत्ता परिवारको बालबालिकाको नागरिकता बनाउनेदेखि सम्पत्तिको हस्तान्तरणमा समस्या आउने गरेको बताइन् । सरकारबाट केही आर्थिक सहयोग पाए पनि बेपत्ता आफन्तको बारेमा सत्यतथ्य जानकारी भइदिए हुन्थ्यो भन्ने आशा परिवारका सदस्यलाई लागेको छ ।

परिवारको मूल सदस्य बेपत्ता हुँदा एकातिर परिवारलाई पीडा छ भने अर्काेतिर घर सञ्चालन र आर्थिक व्यवस्थापनमा पनि चुनौती थपिँदै आएको छ । बेरोजगारी र आर्थिकरुपमा विपन्न परिवारलाई परिवारको मुख्य कमाई गर्ने व्यक्ति बेपत्ता हुँदा झनै बढी समस्या हुने गरेको छ । राज्यले दिएको सानो सहयोगले केही राहतको अनुभूति भए पनि घरमूली बेपत्ता हुँदाको पीडा कलिलो बाल मस्तिस्कमा झनै बढी पर्ने गरेको छ ।

चितवनको खैरहनी नगरपालिका–१० शान्तिबजारका गोपीबहादुर क्षेत्री सुवेदी बेपत्ता भएको १८ वर्ष भयो । साथीहरुलाई भेट्न भनेर वीरगञ्ज पुगेका उनी मकवानपुरबाट तत्कालिन राज्यपक्षद्वारा बेपत्ता भएका हुन् । अझैसम्म उनकी श्रीमती माया सुवेदी र छोराछोरी उनी फर्कने आशमा बसिरहेका छन् । बुबा बेपत्ता हुँदा छोरी तीन वर्षकी र छोरा पाँच वर्षका थिए । घरको मुल मानिस बेपत्ता हुँदा श्रीमती मायाले बालबालिका हुर्काउन निकै दुःख संघर्ष गर्नुप¥यो । माया सुवेदीले नारायणी अनलाइनलाई भनिन्, ‘ हामी आर्थिकरुपमा सामान्य परिवार हौं । श्रीमान् बेपत्ता भएसँगै घरबाट निकालिएर एक्लै बस्नुप¥यो । सुरुदेखिनै बालबालिका हेरेर एक्लै बस्न थालेँ ।’ उनले निकै संघर्ष गरेर स्कुलमा सामान्य जागिर गर्दै मेहनतका साथ बालबालिका हुर्काएको अनुभव सुनाइन् । उनले भनिन्, ‘ राज्यले पनि बेपत्ताका परिवारलाई रेखदेख र रोजगारीको अवसर दिए आर्थिकरुपले विपन्न परिवारलाई केही सहयोग हुन्छ ।’ माया सुवेदी त एक प्रतिनिधि पात्र मात्र हुन् । चितवनमा बेपत्ता परिवारका सदस्यहरु आफन्त फर्किने अझै आशामा बाँचिरहेका छन् ।

शहिद परिवार समाज चितवनकी अध्यक्ष तथा मानवअधिकारवादी नेतृ संगिता भट्टराईले पनि बुबा बेपत्ता हुँदा कतिपय बालबालिकालाई नागरिकता जस्ता कागजपत्र बनाउन समस्या पर्ने गरेको बताइन् । उनले भनिन्, ‘ बेपत्ता भएका व्यक्तिहरुको सत्यतथ्य बाहिर नआएसम्म हिजो सरकार र माओवादी पक्षबीच भएको शान्ति सम्झौंता निष्कर्षमा पुगेको मान्न सकिन्न । अहिले यी सबै विषय संक्रमणकालिन अवस्थामा अल्झिरहेका छन् ।’ बेपत्ताहरुको बारेमा सही सूचना सार्वजनिक हुन नसक्नु विस्तृत शान्ति सम्झौंताको भावना विपरित भएको उनको विचार छ ।

तत्कालिन सरकार र माओवादीबीच २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धको समयमा मारिएकाको वास्तविक नाम, थर र घरको ठेगाना सम्झौता भएको मितिले ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई बुझाउने उल्लेख छ । द्वन्द्वरत दुवै पक्षले कब्जामा रहेका मानिसका बारेमा जानकारी सार्वजनिक गरी १५ दिनभित्र सबैलाई मुक्त गर्न दुवैपक्ष मञ्जुर गर्दछन् भनिएको छ । विसं २०५२ फागुन १ गतेदेखि चलेको १० वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति पक्रियामा ल्याउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच १२ बुँदे विस्तृत शान्ति, सम्झौता भएको थियो । अहिले विस्तृत शान्ति, सम्झौता भएको १४ वर्ष पुगिसकेको छ तर अहिलेसम्म सम्झौताअनुरुप बेपत्ता सार्वजनिक हुन सकेनन् ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोग पटकपटक बने पनि बेपत्ताहरुको बारेमा सही सूचना दिने कार्य हुन सकेको छैन । आयोगमा तीन हजार २४३ उजुरीमध्ये २३७ उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित देखिएका थिए । उजुरीका आधारमा दुइ हजार ५१३ व्यक्ति बेपत्ता पारिएको भनी आयोगको तथ्याङ्कमा उल्लेख छ । आयोगले चितवनसहित नेपालका १५ जिल्लाका १८८ परिवारका ५४० जनालाई पीडित परिचयपपत्र वितरणसमेत गरिसकेको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>