समाचार

कुलमान आएपछि फेरिए प्रादेशिक कार्यालय प्रमुखहरु

Banner

काठमाडौं, ५ भदौ – विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः  कुलमान घिसिङ नियुक्त भएपछि उनले सम्पूर्ण कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

घिसिङले अब सेवामा सुधार ल्याउने र विद्युत चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखी शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गर्ने तयारी गर्दै अगाडी बढेका छन् ।

त्यस्तै प्रशारण लाइन आयोजना निर्माणमा अब्बल मानिएका र अहिले बृहत् प्रसारण लाइन आयोजना हेर्ने जिम्मेवारीमा रहेका राजन ढकाललाई घिसिङले प्रदेश १ को प्रादेशिक कार्यालय विराटनगरको  जिम्मेवारी दिएका छन् । त्यहाँ रहेका टेकनाथ तिवारीलाई बृहत प्रसारण लाइन आयोजना ४ सय केभीको प्रमुखमा ल्याइएको छ ।

संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालयका प्रमुखहरुको सरुवा गरेका हुन् ।

लुम्बिनी प्रादेशिक कार्यालय बुटवलको प्रमुख रहेका मुनिन्द्र ठाकुरलाई सबैभन्दा बढी विद्युत चुहावट भएको प्रदेश नं २ मा लगिएको छ ।   यसअघिको व्यवस्थापनले त्यहाँ मेकानिकल इन्जिनियरलाई पठाएको भन्दै आलोचना भएको थियो ।

आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका केदारराज सिलवाललाई गण्डकी प्रादेशिक कार्यालय पोखरामा सरुवा गरिएको छ । त्यहाँ रहेका श्रीराम पोखरेललाई ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

विद्युत चुहावट नियन्त्रण महाशाखमा रहेका जंगबहादुर चन्दलाई सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाको प्रमुखमा लगिएको छ । त्यहाँ रहेका जगदिशचन्द्र जोशीलाई कार्यकारी निर्देशकको सचिवालय प्रमुखमा ल्याइएको छ ।

जनकपुर कार्यालयका प्रमुख चन्द्रशेखर चौधरीलाई प्राविधिक सपोर्ट विभागमा सरुवा गरिएको छ । चौधरी प्राधिकरणभित्र विद्युतगृहहरु सञ्चालनमा अब्बल मानिन्छन् । एसियाली विकास बैंकबाट लगानी भएका आयोजना कार्यान्वयन गर्ने आयोजना व्यवस्थापन निर्देशनालयमा रहेका नवराज ओझालाई लुम्बिनी प्रादेशिक कार्यालय, बटुवलमा लगिएको छ ।

 

घिसिङ‘आफ्नो कामको नतिजा देखिने र जनताले महसुस गर्ने वितरण तथा ग्राहक सेवाको सुधारमा लाग्नुभएको छ’ त्यस्तै घिसिङको टिमका एक कर्मचारीले भने, ‘यसका लागि एक हप्ताभित्रमा सबै शाखा प्रमुखहरुमा नयाँ टिम बनाउने योजना रहेको छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>