राजनीति
नयाँ पार्टी बनाउन ‘उचाल्ने’ले नै धोका दिए माधव नेपाललाई

काठमाडौं,भदौं २-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदादेखि नै माधव नेपाल समूहका नेताहरु केपी शर्मा ओलीविरुद्ध कडा टिप्पणी गरिरहेका हुन्थे । तत्कालीन प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको राष्ट्रियतामाथिको प्रतिवद्धतामा सबैभन्दा कडारुपमा प्रश्न उठाउने व्यक्ति थिए –भीम रावल । रावलले खासगरी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता गरेको र देशमा लागु गर्न खोजेको विषयलाई लिएर उनले केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका थिए ।
केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि समेत सरकारलाई एमसीसी के गर्नु हुन्छ भन्दै प्रश्न उठाएका छन् । तर, त्यसको कट्टर विरोधी उनै भीम रावल भने ओलीसँगै रहनेगरी माधव नेपालको साथ छोडेका छन् । पहिला केपी शर्मा ओलीसँग वार्ता गर्न जाँदासमेत ‘खुट्टा कमाउनुहोला है’ भन्दै खबरदारी गर्ने रावलजस्ता थुप्रै जनाले नेता नेपाललाई छाडेको एमालेका एक नेताले बताए ।
माधव नेपालका विश्वास पात्र भएर ओलीसँग वार्ता गर्न गएकाहरुको समूहले नै साथ छाडेको छ । नेपाललाई स्थायी कमिटी सदस्यद्वय मुकुन्द न्यौपाने र बेदुराम भुसालबाहेक स्थायी कमिटीमा रहेका सबैले साथ छोडेका छन् । त्यसरी साथ छोड्नेमा रावलपछि ओलीको चर्को विरोधीका रुपमा देखिएकी अर्की नेतृ हुन् अष्टलक्ष्मी शाक्य ।
“अष्टलक्ष्मी शाक्य यो स्तरको अवसरवादी हो भनेर यसअघि अनुमानसम्म पनि गरिएको थिएन,” नेकपा एमालेका केन्द्रीय सदस्यले भने, “वडा वडाबाटै प्रतिरोध गरेर ओलीलाई अन्तिम धक्का दिन्छौँ भन्नुभएको थियो, एकैपटक ओलीको टिममा गएर संसदीय दलको नेता हुनुभएछ ।” उनले शाक्यलाई नेपाल समूहले नै मुख्यमन्त्री बनाउने गृहकार्य गरेको भन्दै ओली समूहको असहयोगबाट पाखा परेकी शाक्य अहिले ओलीकै समूहमा रहेको भन्दै ती नेताले कडा टिप्पणी गरे ।
ओलीविरुद्ध समानन्तर संगठन देशभर बनाउन दौडिने नेता हुन् सुरेन्द्र पाण्डे । नवौँ महाधिवेशनमा नेपालको प्यानलबाट महासचिव उमेदवार रहेका पाण्डेले नै धेरै जिल्लामा पुगेर ओलीविरुद्ध समानान्तर संगठन निर्माण गरेका थिए । त्यो अभ्यास उनले नेकपा हुँदादेखि नै गरेका थिए । जिल्ला अध्यक्षमा बहुमतमा रहेका नेपाल समूहको संगठनको उपयोगमा सबैभन्दा धेरै खुलेर दौडिएका उनी अन्त्यमा नेता नेपाललाई साथ दिन सकेनन् ।
उनी नेपालको अलग पार्टी निर्माण गर्ने निर्णयमा असहमत भए र नेपालको साथ छोडेर अलग्गै बसेका छन् । यद्यपी उनले रावलले झैँ ओलीलाई साथ दिने संकेत गरिसकेका छैनन् । पार्टीको कारवाही फिर्ता गराउन दौडधुप गरिरहेका घनश्याम भुसालले पनि नेपाललाई साथ दिन भने आँट गरेनन् । फरक दल दर्ताको प्रक्रियाका लागि अन्तिम सयममा नेपालले राखेको बैठकमा समेत पुगेका भुसाल केही बेरमा आउने भन्दै बाहिरिएपछि नेपालको सम्पर्कमा छैनन् ।
ओलीका कट्टर विरोधी अनि वैचारिकरुपमा प्रष्ट तथा हक्की स्वभावका भनिएका भुसाल अहिले ओली टिममा पनि खुलेका छैनन् । नेपाललाई धोका दिने नाममा रघुजी पन्तको पनि नाम भन्नुपर्दा आश्चर्य लागेको एमालेका केन्द्रीय सदस्य बताउँछन् ।
माधव नेपालको नजिक रहेका अर्का नेता हुन् रघुजी पन्त । नेपालका नजिकका विश्वासपात्र रहेका पन्तले पनि साथ नदिएको नेताहरु बताउँछन् । अहिले माधव नेपाललाई धोका दिने तिनै नेताहरु हुन् जसले नेकपा कायम नै रहेका बेला ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेका थिए । त्यसमध्येका योगेश भट्टराई र गोकर्ण विष्टले यसअघि नै ओलीको विकल्प खोज्ने प्रस्तावमा हस्ताक्षर नगरेर आफूलाई अलग गरिसकेका छन् ।बाह्रखरीबाट
























