Breaking News

किन रोकियो पुल्चोक–गोन्द्राङ्ग सडक विस्तारको काम ? हालसम्मको प्रगति १४ प्रतिशत (भिडियोसहित)

  • Logo
    app haru
  • १ भाद्र २०७८, मंगलबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, भदौ १
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुरको पुल्चोक–गोन्द्राङ सडकखण्ड विस्तारको काम रोकिएको छ । हालसम्म १४ प्रतिशत काम सम्पन्न भएकोमा अहिले वर्षातका कारण काम रोकिएको हो ।

सडक विस्तारको काम सुरु भएको १० महिना पुगेको छ । उक्त सडक विस्तारको ठेक्का सम्झौता सकिन अब १८ महिनामात्र बाँकी छ ।

२०७७ साल असोज २६ गते २८ महिनाभित्र सडक विस्तार सम्पन्न गरी सक्ने सम्झौता भएको थियो । सम्झौताको म्याद २०७९ माघसम्म रहेको छ ।

वर्षातमा काम पनि रोकिनु र १० महिनामा प्रगति पनि खासै नदेखिँदा पुलचोक–गोन्द्राङ्ग सडकखण्डको अवस्था पनि भरतपुर बाइपासकै जस्तो हुने होकी भन्ने चिन्ताका स्वरहरु सुनिन थालिसकेका छन् । समयमा काम सम्पन्न हुन नसक्दा बाइपास सडकको अवस्था बिजोक भएको थियो ।

भरतपुरको बाइपास सडकको विजोगः चार वर्षमा पनि भएन साढे दुई किलोमिटर काम

निर्माण कम्नपनी इण्डो सगुन जेभीका इन्जिनियर विजय भट्टराईका अनुसार सडकमा अहिले नाला बनाउने काम भइरहेको थियो । वर्षातमा नालाका लागि खाल्टो खन्दा पानी जम्ने भएकाले काम रोकिएको उनले बताए ।

सडकमा काम रोकिए पनि बाहिर क्रसरको काम र म्याटेरियल्स ल्याउने काम भने भइरहेको उनको भनाइ छ । ‘वर्षातमा रोकिएकै कारणले सम्झौता मितिभित्र सडक विस्तार सम्पन्न गर्न समस्या हुँदैन’ उनले भने, ‘हामीले वर्षामा हुने अवरोधलाई मध्यनजर गरेरै ठेक्का सम्झौताको मिति तोकेका हुन्छौं ।’

यद्यपी समयमा काम सम्पन्न गराउन विभिन्न चुनौतीहरु आउन सक्ने देखिएको उनको भनाइ छ । घर हटाउने काम, रुख कटान, बिजुली पोल स्थानान्तरण र खानेपानाीको पाइप जडान चुनौतीका रुपमा आउन सक्ने उनले बताए । यी चार चुनौतीलाई सम्बन्धित निकायले समयमा समाधान गरी काम गर्ने सहज वातावरण बनाइदिए आफूहरुले जसरी पनि समयमै काम सम्पन्न गर्ने इन्जिनियर भट्टराई बताउँछन् ।

मुख्य चुनौती भनेको घर टहरा सार्नु भएको बताउँदै उनले समयमै घर टहरा सार्न सके आफूहरुलाई काममा तीव्रता दिन सजिलो हुने बताए । अहिले घर भएका ठाउँमा पोल सार्न पनि सकिएको छैन । सबै विद्युत पोल सार्न नसक्दा सबै रुखहरु पनि काट्न सकिएको छैन । विद्युत पोल सारेपछि मात्र काटन मिल्छ । रुख र विद्युत पोल नसर्दा सबै ठाउँमा नाला पनि बनाउन नसकिएको इन्जिनियर भट्टराई बताउँछन् ।

यी विभिन्न समस्या समाधान भइसकेपछि सडक पिच गर्नका लागि खन्ने क्रममा पानीका पाइपहरु फुट्ने गर्छन् । ती फुटेका पाइपलाई खानेपानी बोर्डले समयमै व्यवस्थापन गर्न नसकेमा काममा अर्काे चुनौती खडा हुने भट्टराई बताउँछन् ।

यी सबै चुनौतीहरु पार भएको खण्डमा आफूहरुले यो वर्षभरीमा ७० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य राखेको भट्टराईको भनाइ छ । ‘निर्माण कम्पनीका कारण ढिला हुने भनेको म्याटेरियल समयमा नआएर हो । तर हामीले अहिले नै ६० प्रतिशत म्याटेरियल ल्याइ सकेका छौं’ उनले भने, ‘नाला बनाउनेलगायतका म्याुनअल कामहरु भइरहेकाले केही ढिला भएको देखिएको हो । यो सकिएपछि मेशिनले धमाधाम काम गर्छ । मेशिनको संख्या थपेर भए पनि काम तीव्र गतिमा अघि बढाउँछौ ।’

सडक डिभिजन भरतपुरका इन्जिनियर धिरज ढकालले अहिले पानीका कारण काम रोकिएको भए पनि अरु बेला निर्माण कम्पनीले गरेको काममा कमजोरी नभएको बताए । समयमा काम सम्पन्न गर्न आफूहरुले दबाब दिइरहेको बताउँदै इन्जिनियर ढकालले काम सम्पन्न हुनेमा आफूहरु विस्वस्त रहेको बताए ।

बिजुलीका पोल, रुख, खानेपानी र घर टहरका समस्याहरु सम्बन्धित निकायले बेलैमा समाधान गर्नुपर्ने बताउँदै उनले आफूहरुले सबै निकायलाई यसबारे जानकारी गराइरहेको बताए ।

भरतपुर बाइपास सडक निर्माण जस्तो ढिलाइ र बिजोक अवस्था सिर्जना हुन नदिन सडक डिभिजन निकै सचेत रहेको उनको भनाइ छ ।

यस्तो बन्दै छ सडक :

सडक डिभिजन भरतपुरका अनुसार पुल्चोकदेखि–गोन्द्रङ्गसम्म ६ किलोमिटर रहेको छ । सडकलाई विस्तार गरी ६ लेन स्टाण्डर्ड बनाउन लागिएको हो । सडक विस्तारको लागत १ अर्ब १२ करोड रुपैयाँ तोकिएको छ । संघीय सरकारको बजेटमा सडक विस्तारको काम थालिएको हो ।

टिकौली जंंगल छेउ गोन्द्राङदेखि केन्द्रीय बस टर्मिनलचोक (पारस बसपार्क) सम्म सडक अहिले २ लेन रहेको छ । यस्तै केन्द्रीय बस टर्मिनलदेखि रिजालचोकसम्म ४ लेन छ । फेरि रिजाल चोकदेखि चौबिसकोठीसम्म २ लेनको छ । यस्तै चौबिसकोठीदेखि नारायणगढको पुल्चोकसम्म ४ लेनको रहेको छ ।

सडक डिभिजनका अनुसार दुई लेन भएको स्थानमा थप ४ लेन र ४ लेन भएको स्थानमा थप २ लेन थपेर सबै ठाउँमा ६ लेनको बनाउन लागिएको हो । ५० मिटर चौडाइ रहने सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुली अन्डरग्राउन्ड गरिने छ ।

सडकको बीचबाट दायाँबायाँ १० मिटर हाइवेय रोड हुने छ । त्यसपछि सर्भिस रोड हुने छ । त्यसपछि पिच बाहिर फुटपाथ रहने छ । बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ ।

बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक रहने छ । पुल्चोकदेखि लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म अलग–अलग डिजाइनमा बनाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>