Breaking News

त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले पाउने भए कोरोना खोप, प्रवेशपत्र देखाएर लगाउन पाइने

Banner

काठमाडौं, साउन २७-

सरकारले त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।

विभिन्न विद्यार्थी संगठनले खोपको माग गर्दै विश्वविद्यालयले तोकेका परीक्षा केन्द्र अगाडि प्रदर्शन गरेका थिए । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने डा. गौतमले बताए ।

उनका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् । त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।

मन्त्रालयका अनुसार त्रिविले सञ्चालन गर्ने परीक्षामा करिब ६० हजार विद्यार्थी रहेको अनुमान गरेको छ ।

साउन २५ गते सत्तारुढ दल निकट पाँच विद्यार्थी संगठनहरुले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटी परीक्षामा सहभागी हुने विद्यार्थीलाई खोपको व्यवस्था गर्न भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले विद्यार्थीहरुमा मानसिक चिन्ता थपिएको भन्दै उनीहरुले परीक्षार्थीलाई खोपको व्यवस्था गर्न माग गरेका थिए । नेपाल विद्यार्थी संघका महामन्त्री दिपक भट्टराईले परीक्षार्थीलाई खोपको व्यवस्था गरेको प्रति सरकारलाई धन्यवाद दिँदै शैक्षिक सत्र अवरुद्ध नहुने गरी खोप लगाउन योग्य सबै विद्यार्थीलाई सरकारले खोपको व्यवस्था मिलाउन माग गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>