राजनीति

देशभर समानान्तर कमिटी गठन गर्दै नेपाल पक्ष

Banner

काठमाडौं,साउन २७-

नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन गर्ने भएको छ । पार्टीसहित जनवर्गीय संगठन समानान्तर कमिटी गठन गर्दै संघर्षका कार्यक्रम अघि बढाउने निष्कर्षमा नेपाल पक्ष पुगेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टी एकताका लागि छलफल चल्दैगर्दा ‘एकपक्षीय रूपमा विधान महाधिवेशन गर्न खोजेको’ भन्दै नेपाल पक्षले देशभर समानान्तर कमिटी गठन रणनीति बनाएको छ । अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने र अध्यक्षलाई शक्तिशाली बनाउन ओली पक्षले विधान नै संशोधन गर्न खोजेपछि नेपाल पक्षले पार्टी एकताको आधार समाप्त भएकोसमेत जनाएको छ ।

सोमबारको स्थायी र केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन प्रस्ताव पारित गरेको ओली पक्ष २७ र २८ भदौमा विधान महाधिवेशन गर्दै छ । नेपाल पक्षका नेता जगन्नाथ खतिवडाले ओली पक्षको गतिविधिले एकता सम्भावना नरहेको औंल्याए ।

ओली पक्षको एकपक्षीय विधान संशोधन र विधान महाधिवेशनलगायत क्रियाकलापले एकता जोगाउनभन्दा विभाजनउन्मुख रहेको खतिवडाले बताए । ‘केपी ओलीहरूले पार्टी विभाजन गर्ने गतिविधि रोक्नुभएन, एकताका लागि छलफल चल्दैगर्दा एकपक्षीय मनलाग्दी विधान संशोधन गर्न खोज्नुले विभाजन हुन्छ,’ खतिवडाले भने, ‘अब हामी केन्द्रदेखि स्थानीय तहसम्म पार्टीसहित जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउँदै अघि बढने छौं ।’ स्रोतका अनुसार वरिष्ठ नेता नेपालले आफूपक्षीय नेतालाई देशभर पार्टीका साथै जनवर्गीय संगठनको समानान्तर कमिटी गठनसहित संगठन विस्तार गर्न आन्तरिक निर्देशन दिइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>