Breaking News
निजी जमिन सरकारीकरण गरौं, जग्गामा व्यक्तिको स्वामित्व अन्त्य गरौं : वामदेव

काठमाडौं, साउन २३
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।
आइतबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताएका हुन् ।
निजी स्वामित्वको जमिन हुँदासमम सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताए।
‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समधान हुँदैन्,’ उनले भने, ‘सरकारले सबै जमिन चलनचल्तीको मुल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्यौं र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौं । अब यो गलत बाटोमा जानुहुँदैन ।’
नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको भन्दै गौतमले जमिन बाँडेर यो समस्या समाधान नहुने दावी गरे । ‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने, ‘हामीले जमिन नै दिने गर्यौं भने पनि हामीसँग त्यति जमिन छँदा पनि छैन । २० लाख भूमिहीनलाई दिने जग्गा नै छैन ।’






















