Breaking News
भुटानले दिएको तीन लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौं, साउन २२
भुटान सरकारले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।
खोप ल्याएर आएको भुटानको ड्रुकर एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो । खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप आइपुगेको छ ।
‘ठ्याक्कै कति डोज आएको छ भन्ने कोल्ड चेनमा लगेर राख्दा थाहा हुन्छ,’ उनले भने,‘परराष्ट्र मन्त्रालयले लगभग तीन लाख खोप आउने भनेको थियो ।’ भुटानले दिएको खोप नेपाललाई पैंचो हो कि अनुदान भन्ने खुलेको छैन ।
भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।
भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । भुटानले यो खोप आफैं किनेको होइन, मित्र राष्ट्र र विश्व स्वास्थ्य संगठनको कोभ्याक्समार्फत् अनुदानमा पाएको हो ।
























