Breaking News

लामो समयसम्म सरकारलाई पूर्णता दिन नसक्नु गलत हो: कांग्रेस नेता डा. महत

Banner

काठमाडौं, साउन २१-

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताएका छन् ।

रिपोटर्स क्लब काठमाडौँमा भएको साक्षात्कारमा उनले भने, ‘सरकारलाई पूर्णता दिनको लागि ढिलाइ भयो, सरकार गठन भएको यत्तिका दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन, यो गलत कुरा हो । सत्तापक्षीय गठबन्धनमा आवद्ध दलहरुसँगको सहमतिमा जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्छ । अब ढिलाइ गर्नु हुँदैन ।’

नेता महतले वर्तमान सरकारले यसअघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्ने पनि धारणा राखेका छन् । उनले सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्ने पनि बताएका छन् । यसअघि अध्यादेशबाट ल्याइएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने महतको भनाइ छ ।

उनले अब ल्याउने बजेट कृत्रिम रुपमा आकारमात्रै बढाउन नहुने सुझाव दिए । यसअघि अध्यादेशमार्फत आएको बजेटले राष्ट्रको आन्तरिक र बाह्य दुवै ऋण बढाएको उनको गुनासो छ । उनले भने,‘अहिले एक जनाको भागमा ५२÷५३ हजार ऋण पुगेको छ ।’ अब बजेट ल्याईँदा प्रशासकीय खर्च पनि घटाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनको जोड थियो ।

साक्षात्कारमा उनले वर्तमान सरकारले पूर्ण बजेट ल्याउनको लागि तयारी गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले भूमि आयोग विघटन गरेकोमा खुसी व्यक्त गरे । सरकारको यो कदमलाई सकारात्मक रुपमा लिनुपर्ने पनि उनको भनाइ छ । उनले भने,‘भूमिहिनहरुलाई भूमि दिने कुरामा सरकारले उचित र वैज्ञानिक ढंगले काम गर्छ । तर, यसअघि आयोग बनाएर कार्यकर्ताको भर्ती केन्द्र बनाइएको थियो । यसलाई विघटन गर्नु उचित हो ।’ उनले अब सरकारले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने कुरामा जोड दिनुपर्ने पनि सुझाव दिए । त्यस्तै, उनले मुलुकको सुशासन कायम गर्ने कुरामा पनि सरकारले आवश्यक ध्यान दिने विश्वास दिलाए ।

पूर्वमन्त्री महतले राजनीतिक नियुक्ती गर्दा पनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताए । उनले अर्थतन्त्रलाई पूनर्जीवन दिने कुरामा विशेष ध्यान दिनुपर्ने पनि धारणा अघि सारे । डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि टिप्पणी गरेका छन् । अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुंगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उनको भनाइ छ । उनले भने,‘साउन १२ गते वडा तहको अधिवेशन गर्नुपर्ने भनिएको थियो, त्यो पनि सकिएन । मुख्य कुरा क्रियाशिल सदस्यता फाइनल हुनुप¥यो नि, अहिलेसम्म भएको छैन् ।’

तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको महतको भनाइ छ । उनले भने,‘एउटा विचार के आएको छ भने अब भदौ १९ को समयमा महाधिवेशन गर्न नसकिने भएपछि त्यसपछि वर्तमान कार्यसमितिलाई नै अन्तरिम कार्यसमिति बनाएर जाने कुरा पनि छ, अर्को विचार सहमतिको आधारमा नयाँ समिति बनाउने कुरा पनि छ । अर्को कुरा असोज÷कार्तिकसम्म महाधिवेशन गरौं भन्ने पनि छ । अर्को अहिलेकै मितिमा पनि महाधिवेशन गर्न सकिन्छ भन्ने कुरा आएको छ ।’ उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैं सुदृढ गर्नुपर्ने बताए । उनले भने,‘यो एउटा ऐतिहासिक पार्टी हो, हाम्रो आइडियोलोजी ठिक छ । हामी बीचमा एकता हुनुपर्छ । पार्टीभित्र संघर्ष गर्नु उचित होइन् । एकता कायम गरेर नै अघि बढ्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>