Breaking News
चितवनमा कडा निषेधाज्ञा गर्ने बारे छलफल थालियो, अस्पताल भरिन थालेपछि सरोकारवाला चिन्तित

चितवन, साउन १९–
पछिल्ला दिनमा कोरोनाको ग्राफ उकालो लागेपछि चितवनमा फेरि कडा निषेधाज्ञा हुने संकेत देखिएको छ । दैनिकजसो २ सय भन्दा बढी संक्रमित फेला पर्न थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले कोरोना नियन्त्रणको विकल्प खोज्न थालेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको नेतृत्वमा रहेको समितिले दैनिकजसो छलफल गर्न थालेको छ । कोरोना नियन्त्रणको उपाय निषेधाज्ञा वा अन्य के हुन सक्छ भनेर निरन्तर छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । उनले नारायणी अनलाइनसंग भने–‘दैनिक संक्रमितको तथ्यांकलाई विश्लेषण गरिरहेका छौँ, हामी छिट्टै एउटा निर्णयमा पुग्छौँ ।’
चितवन प्रशासनले पछिल्लोपटक निषेधाज्ञाको अवधि बढाएर साउन २४ गतेसम्म पुर्याएको छ । खुकुलो मोडलमा निषेधाज्ञा थप गरिएकाले अहिले निषेधाज्ञाको अनुभूति छैन । निषेधाज्ञालाई अझै कडा बनाएर लैजानुपर्ने सुझावहरु पनि आउन थालेका छन् ।
अहिले दैनिक रुपमा संक्रमणदर बढ्दै गएपछि जिल्लाका अस्पतालहरु पनि भरिन थालेका छन् । कोरोनाको सुरुवातदेखि उपचार गर्दै आइरहेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेजमा अहिले बेड अभाव हुन थालेको छ । निषेधाज्ञा खुकुलो भएपछि अस्पतालमा बिरामीको चाप बढ्दै गएको चितवन मेडिकल कलेजका निर्देशक डा.दयाराम लम्साल बताउँछन् । ‘अहिले कोरोनासंगै अन्य बिरामीको चाप ह्वात्तै बढेको छ, हामीले कोरोनाका लागि छुट्याएको बेडहरु सबै भरिन थालेका छन्’ निर्देशक लम्सालले भने–‘यहि गतिमा संक्रमित बढ्दै गएपछि फेरि बिरामी राख्न नसक्ने अवस्थामा पुग्छौँ ।’
भरतपुर अस्पतालमा पनि उस्तै बिरामीको चाप छ । ओपीडीमा बिरामीको चापसंगै कोरोना संक्रमितको चाप पनि उस्तै भएकाले अस्पताललाई बिरामीको उपचारमा थप कठिनाई उत्पन्न हुने अवस्था सिर्जना भएको छ । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा.प्रमोद पौडेलले अहिले गम्भिर प्रकृतिका संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको बताए । उनले दैनिकजसो बिरामी थपिदै गइरहेकाले उपचारमा कठिनाई हुने बेला आएको बताए ।
चितवनमा आज (मंगलबार)सम्ममा सक्रिय संक्रमितको संख्या २ हजार १८९ जना छन् । जसमा मंगलबार थपिएका १८० जना समेत छन् । कोरोना संक्रमण देखिएको दिनदेखि हालसम्म चितवनमा संक्रमितको संख्या २० हजार ९५० पुगेको छ । हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।
























