Breaking News

फेरि लकडाउनको हल्लाले चितवनका व्यवसायी चिन्तित, भन्छन्: अब लकडाउन पुग्यो

Banner

चितवन, साउन १९

पहिलो र दोस्रो चरणको लकडाउनले थला परेको अर्थतन्त्रमा सकारात्मक सुधारको आश गरिरहेकै बेला कोरोनाको नयाँ–नयाँ भेरियन्ट आएर फेरि लकडाउन हुने हल्ला चलेसँगै चितवनका उद्योगी तथा व्यवसायी चिन्तामा परेका छन् ।

उद्योगी, व्यवसायी र मजदूरले कोरोनाविरुद्धको खोपसमेत नपाइरहेका बेला तेस्रो चरणको लकडाउन हुने हल्लाले व्यवसायीहरु चिन्तित भएका हुन् ।

जिल्लाका प्रशासक, चिकित्सकलगायत सम्पूर्ण सरोकारवालाहरुबीचमा छलफलमा नै रहेका उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले व्यवसाय नै धरासायी हुने गरी लकडाउन गर्न नहुने नारायणी अनलाइनलाई बताए । सरोकारवालाहरुको बैठक स्थलबाटै उनले भने, ‘सबै व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउने वातावरण तयार गर्नुपर्छ । लकडाउन नै गरे पनि एक हप्तामा नै सबै संक्रमण नियन्त्रण हुने गरी गर्नुपर्छ । नजिकिएको दसैँ र तिहारमा कुनै हालतमा पनि लकडाउन नगर्ने वातावरण तयार गर्नुपर्छ । ’ उनले चाडपर्व नै व्यवसायीको मुख्य व्यापारको समय भएकोले चाडपर्वमा गरिने लकडाउन हामीलाई मान्य नभएको बताए । उनले भने, ‘ सधै लकडाउनको कुरा गरेर मात्र हुँदैन । स्वास्थ्य मापदण्ड पालनामा पनि सबैले ध्यान दिनुपर्छ । नारायणी नदी किनारमा दैनिक पानीपुरी खान र टिकटक बनाउन जाने हजारौंको भीडलाई नियन्त्रण गर्नुपर्छ ।’

उद्योग वाणिज्य संघ, चितवन उद्योग संघ र चितवन चेम्बर अफ कमर्सलगायतका निजी क्षेत्रका संगठनहरुले कोरोनाको खोप माग गरिरहेका छन् । तर, सबै उद्योगी, व्यवसायी र मजदूरले अझैसम्म खोप लगाउन पाएका छैनन् ।

चितवनमा कोरोनाको कारणले विद्यालय, सिनेमा हल, पार्टी प्यालेस, रात्रिकालीन व्यवासाय र पर्यटन क्षेत्र बन्द छन् । उद्योगधन्दा कलकारखाना, उत्पादनमूलक क्षेत्र र व्यापार समय तोकेर सञ्चालनमा आएका छन् ।

चितवन चेम्बर अफ कमर्सका सदस्य महेश तिवारीले सबैलाई कोरोनाविरुद्धको खोप लगाएर अर्थतन्त्रलाई चलायमान राख्नुपर्ने बताए । उनले नारायणी अनलाइनलाई भने, ‘ अब लकडाउन पुग्यो, अति भयो । फेरि लकडाउन गर्ने भन्दा पनि स्वास्थ्य मापदण्डको पालनालाई ध्यान दिनुपर्छ । पहिलो र दोस्रो लहरबाट नै चितवनका व्यवसायी धरासायी बनिसकेका छन् । ’ उनले बजारमा स्वास्थ्य मापदण्ड पालना भएको वा नभएको निगरानी गर्न एउटा टोलीनै घटाएर काम गर्नुपर्ने बताए । तिवारी भन्छन्, ‘राजनीतिक दलहरुले प्रदर्शन, जुलुस र अन्य विरोधका कार्यक्रमहरु बन्द गरेर कोरोना नियन्त्रणमा सहयोग गर्नुपर्छ । यसअघि गरिएका लकडाउनमा खासै कोरोना संक्रमण घट्न सकेन । तसर्थ फेरि पनि स्वास्थ्य मापदण्ड बिनाको लकडाउनको कुनै अर्थ रहँदैन । यसले व्यवसायीलाई धरासायी मात्र बनाउँछ । ’ अहिले चितवन मात्रै होइन विश्व नै कोरोनाले त्रसित भएकोले विकसित देशले कसरी उद्योग र व्यवसाय सञ्चालन गरेका छन् सोही व्यवस्थित प्रणाली नेपालमा पनि अपनाउन जरुरी भएको नारायणगढका व्यवसायी बताउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>