देश/प्रदेश
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो, एकैदिन २,५६८ जनामा देखियो कोरोना

काठमाडौं, साउन १७ –
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । आज मात्रै नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणले आज १८ जनाको मृत्यु भएको छ भने २०२० जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।
























