राजनीति
पार्टीमा ब्रिफिङ गर्दै प्रचण्डले भनेः माधव समूह एमालेमा जाने देखिन्छ

काठमाडौं,साउन १७-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने उनले बताए । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उनले भनेका छन्, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’
माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले जसपासँगै माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए ।

























