चितवन विशेष
चितवनका कवि भूपिन भन्छन्: तीजको गीतमा पुरुष स्वरको अतिक्रमण र उट्पट्याङ बढ्यो

चितवन, साउन १४-
चितवनका लोकप्रिय कवि तथा निबन्धकार भूपेन्द्र खड्का ‘भूपिन’ महिलाहरुले गाउँले मौलिक परम्परामा आधारित तीज गीतमा पुरुष स्वरको अतिक्रमण बढेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गीतमा बढ्दै गएको उट्पट्याङ हल्का मनोरञ्जनप्रति बहसको थालनी गर्नुपर्ने बताएका हुन् । कवि भूपिनले भनेका छन्, ‘कतिपय गीतहरू सुन्छु, शरीरकेन्द्री, साह्रै सस्तो मनोरञ्जन, उट्पट्याङ शब्दहरूको थुप्रो‘.. गम्भीरतामा शून्य, ’अर्थोक’मा सयमा सय । विसंगत लाग्छ ।’
भूपिनले आफूले बुझेसम्म तीज गीत र रत्यौली नेपाली नारीहरूले गाउने उनीहरूका मौलिक ‘ब्लुज’ भएकोले महिलाहरूले प्रायः आफ्ना दुःख, असन्तोष र आक्रोश ब्यक्त गर्ने सांगीतिक विधा भएको बताएका छन् । उनले भनेका छन्, ‘कताकति खुसी पनि मिसिएको । गीतका यी विधाको इतिहासले के भन्छ ? व्यवस्थित अध्ययन गरेको छैन । तर अचेल यो विधामा पनि पुरुष स्वरहरूको अतिक्रमण देखिन थालेको व्यक्तिगत रुपमा मलाई रुचिकर लाग्दैन । संगीतमा पनि के को बन्देज ? भन्ने प्रश्न आउला । फेरी मौलिकताको विषय पनि महत्वपूर्ण हुने नै भयो । यसबारे त विज्ञहरूबाट बहस जरुरी होला । ’
उनले तीज नजिकै आएको अवस्थामा तीज गीतका नाममा च्याप्प समाउने, रातो सारी अनावरण गर्ने टाइपका गीतहरू बज्न थालेको विचार राखे । उनले बहसका लागि अव्हान गर्दै भनेका छन्, ‘ तपाईँहरूलाई कस्तो लाग्छ कुन्नी ? गीतको संस्कृति, मौलिकता र अर्थको विषयमा छलफल सुन्न चाहेर यति लेख्न मन लाग्यो ।’

फाइल फोटो
























