Breaking News

पैसा नतिरेको भन्दै आइसियूमा उपचाररत चेपाङलाई पुरानो मेडिकल कलेजले दिएन औषधि

Banner

मनिका विश्वकर्मा,

भरतपुर, साउन १२ –

असार २३ गतेका दिन । रस्मिता चेपाङ श्रीमान कृष्णको प्रतिक्षामा थिइन् । उनका श्रीमान् ज्यालादारी काम गरिसकेपछि तरकारी लिएर पैदल घर फर्किदै थिए । मकवानपुरको बसामाडी पम्प भन्ने ठाँउमा उनी तरकारी लिएर घर फर्किन लागेका थिए । बाटो काट्ने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दियो । उनी दुर्घटना भएकै स्थानमा अचेत अवस्थामा पुगे । नाक,कान र हातहरुबाट रगत बग्दै थिए । रस्मिता भने तरकारीको प्रतिक्षामा थिइन् । रातको आठ बजिरहेको थियो । रस्मिताको मोबाइलमा फोन आयो । तिम्रो श्रीमानलाई बाइकले हान्यो छिटो आउ भन्दै ।

रस्मिता हतारहतार छोराछोरीलाई घरमा नै राखेर चुरे हिल अस्पतालमा पुगिन् । त्यहाँ श्रीमानको अवस्था देख्दा उनी आफुलाई थाम्न सकिनन् । रुदै चिच्याउँदै थिइन् । गुहार माग्दै थिइन् । अस्पतालका डाक्टरहरुले उपचार गर्न नसक्ने भनेपछि श्रीमानलाई काठमाडौं अथवा भरतपुर लैजान आफ्नो दाईलाई फोन गरिन् । दाई पनि अस्पताल आईपुगे । एम्बुलेन्सलाई तत्काल बोलाइयो । त्यसपछि उनीहरुले भरतपुरको पुरानो मेडिकल कलेजमा ल्याएर श्रीमानलाई भर्ना गरे । रातको १२ बजिसकेको थियो । सरकारी भरतपुर अस्पतालमा श्रीमानको उपचार हुननसक्ने भनेपछि उनीहरुले मेडिकलमा लगेका थिए ।

राती भर्ना गरिएपनि उनलाई बिहानको समयमा मात्रै अस्पतालले उपचार सुरु ग¥यो । “बिहान साढे ११ बजे डाक्टरले अपरेशन गर्नुपर्छ भने । त्यसपछि मैले के को अपरेशन भनेर सोधे । उहाँले टाउकोमा रगत जमेको छ । त्यसैको अपरेशन हो भनेपछि मैले खर्च के कति लाग्छ भनेर सोधे । टाउको अपरेशन गरेको मात्रै दुई लाख लाग्छ भने । अनि मैले हामीसंग यत्रो पैसा छैन ज्याला मजदुरी गरेर बिहान बेलुका छाक टार्ने संग कहाँबाट हुन्छ भने । रस्मिताले भनिन् ।”

डाक्टरले अपरेशन नगरे श्रीमानको ज्यान नै जाने भनेपछि उनले गुहार मागिन् । आफु एक्लै रहेको र सहयोग गर्ने कोही नभएको भन्दै डाक्टरलाई विलौना गरिन । उनको कुरा सुनेर डाक्टरले कृष्णलाई अपरेशन गर्न कोठाभित्र लगे । त्यसपछि फेरी डाक्टरले रगतको आवश्यक रहेकोले छिटोभन्दा छिटो ल्याउन रस्मितालाई भने । रस्मिता सरकारी अस्पतालमा रगत खोज्न पुगिन् । विडम्बना उनले त्यहाँ रगत पाइनन् । श्रीमानसंग मिल्ने रगत नै नपाएपछि उनी रित्तै अस्पताल फर्किन् । डाक्टरले रगत जसरी पनि आवश्यक रहेको भन्दै आफन्तहरुको मिल्न सक्ने भएकोले उनीहरुलाई बोलाउनु भने । रस्मितालाई यो पनि गाह्रो भयो । घर टाढा भएकोले त्यहीमाथि बर्खाको समयमा भिरपाखा अनि खोला तरेर आउनुपर्ने भएकोले रगत दिन कोही आउन सक्ने अवस्था थिएन ।

उनले भनिन्, “रगत नै नभएपछि के होला भन्ने लाग्यो । जे होला परमेश्वरको हातमा छ भनेर विश्वास राखे । अपरेशन गरेर उहाँलाई निकालियो । वार्डमा लगेर भोलिपल्ट बिहानको ११ बजेसम्म राखियो । २४ घण्टासम्म पनि उहाँको होस आएन । होस नआएपछि उहाँलाई आईसियुमा राख्नुपर्छ बहिनी भन्दै डाक्टरले भन्नुभयो ।”

एक दिन आइसियुमा राखेको दिनको १० हजार थियो । आईसियुमा राखेको ८ दिनसम्म पनि श्रीमानको होस नआएपछि उनी आत्तिइन् । “आइसियुमा उहाँलाई दिनको दुईचोटी हेर्न पाउने थियो । म दिनदिनै उहाँलाई आइसियुमा हेर्न जान्थे । जतिखेर पनि ढुकढुकी बढ्थ्यो । आँखा नै खोल्नुभएन । १० दिनमा आँखा खोल्नुभयो । त्यसपछि उहाँले हातको इसारामा बोल्न लाग्नुभयो । खानेकुरा माग्न थाल्नुभयो । बल्ल मन ढुक्क भयो । ” उनले भनिन् ।

रस्मितासंग खाजा खाने समेत पैसा थिएन । बिरामी कुर्न आएका केही व्यक्तिहरुले उनलाई दुई हजार सहयोग गरे । त्यही पैसाले उनले औषधिको लागि बिल भरिदिईन् । त्यसपछि रस्मिताको श्रीमानलाई औषधी चढाइयो ।

अहिले पैसा पनि नभएकोेले मेडिकल कलेजले कृष्णलाई आइसियुमा नै राखिदिएको छ । मेडिकलले औषधि दिन छाडेको छ । ६ लाख पैसा नतिरेसम्म कृष्णलाई वार्डमा नसार्ने र औषधी नदिने अस्पतालले बताउँदै आएको उनले बताइन् । डाक्टरले भनेअनुसारको औषधि फार्मेसीमा पुगेकी रस्मितालाई पैसा नतिरेको भन्दै औषधि रोकिदिएको जानकारी दिइयो । औषधि नदिँदा कृष्णलाई ज्वरो आईरहेको उनले बताईन् । श्रीमानको झन् स्वास्थ्य अवस्था पनि जटिल हुँदै गएको उनले बताईन् । उनीहरुको स्वास्थ्य बिमा पनि छैन । जसले गर्दा उपचारमा पाउने सुविधा पाएका छैनन । ठक्कर दिने मोटरसाइकल र चालक दुवैलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर चालक सजंय लामाले आँफु विपन्न वर्गको भएर कृष्णलाई उपचार गर्ननसक्ने बताएका छन । उनलाई अहिले मकवानपुरको प्रहरी कार्यालयमा मु्द्दा दर्ता गरी थुनामा राखिएको छ ।

सानै उमेरमा विवाह गरेका उनीहरु एकअर्कालाई बहुतै प्रेम गर्थे । रस्मिताले १५ वर्षको उमेरमा कृष्णसंग बिहे गरेका थिए । उनीहरुका दुई छोराछोरी छन् । कृष्ण नै परिवारको आम्दानीको स्रोत हुन् । उनले नै परिवारको खर्च धान्दै आएका थिए । कृष्णको बुबाको पनि पुरानो मेडिकल कलेजमा उपचारका क्रममा तीन बर्षअघि मृत्यु भएको थियो । उनका दुई दाजुभाई छन् । भाई बोल्न नसक्ने अवस्थामा छन् । कृष्णले नै घरखर्च चलाउँदै आएका छन् । आर्थिक अभावमा उपचारबाट बन्चित हुनुपर्ने अवस्था आएको भन्दै उनले सहयोगको अपिल गरेकी छन । सरकारले अल्पसंख्यक समुदायभित्र पर्ने चेपाङको स्वास्थ्य सुविधा निशुल्क हुनुपर्ने भने सुुुसुचित गरेको छ ।

संविधानअनुसार पनि १० प्रतिशत विपन्न वर्ग तथा गरिब समुदायलाई निशुल्क स्वास्थ्य उपचार हुने भन्ने प्रावधान रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार निशुल्क उपचारको लागि वडा कार्यालयको सिफारिस आवश्यक पर्नेछ । सिफारि बमोजिम स्वास्थ्य कार्यालयले प्रक्रिया मिलाउने बताईएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>