चितवन विशेष
निषेधाज्ञा खुकुलोसँगै आशावादी बने पर्यटन व्यवसायी
चितवन,साउन १० –
कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् ।
गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन् । होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदूरको अवस्था थप जटिल बनेको छ ।
कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन् । जङ्गल सफारीलगायतका केही गतिविधि शुरु भएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताउनुभयो । दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उहाँको भनाइ छ । कतिपय घुमेर फर्कने गरेका छन् । पर्यटन मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको सङ्ख्या बढ्ने र मजदूर सुरक्षित हुने व्यवसायीको भनाइ छ ।
भट्टराईले भन्नुभयो, “अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए ।” वर्षात्को समय पर्यटनका लागि राम्रो समय मानिँदैन । यो पर्यटनका हिसाबले अफ सिजन हो । दशैँअघिबाट पुनः पर्यटक आउन थाल्दछन् । वर्षात्को समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ । निकुञ्जभित्रका गतिविधि वर्षात्को समयमा सधैँ बन्द गर्ने गरिन्छ ।
सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन् । रेस्टुराँ एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्न आउनेक्रम शुरु भएको छ । सौराहामा १२० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन् । उहाँले भन्नुभयो, “कोरोना घटेसँगै केही उत्साह थपिएको छ ।” आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउनुहुन्छ ।
हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन् । होटलमा ३३ प्रतिशत पाहुना राख्न पाइन्छ भने रेस्टुराँ साँझ ७ः०० बजेपछि सञ्चालन गर्न पाइँदैन । सौराहाको जङ्गल सफारी लजका कार्यकारी निर्देशकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्नेको टेलिफोन निकै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस वर्ष मेरोमा ३०० भन्दाबढी कोठा अग्रीम बुकिङ भइसकेका छन् ।” कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उहाँको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन् । सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरे बताउनुहुन्छ । घरमा लामो समय बस्दा पट्यार लागेर घुम्न जान खोज्ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै रहेको उहाँले बताउनुभयो । घिमिरेले थप्नुभयो, “कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ ।”
पश्चिम चितवनको पटिहानीमा रहेको जङ्गलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम शुरु भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तालिमलगायतका कार्यक्रमका लागि फोन आइरहेका छन् ।” कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उहाँको भनाइ छ । पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन् ।
साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुबोध प्रधान बिस्तारै पर्यटक आउन थालेको बताउनुहुन्छ । क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताउनुभयो । सौराहाका होटलमा मात्र पाँच हजार ५०० मजदूर कार्यरत छन् । तीसँगै हात्तीका १५०, डुङ्गाका २००, जीपका १०० र नेचर गाइड ३०० हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन् ।
नेचर गाइड एशोसियशन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयताबीचमा एक महिना सामान्य काम भए पनि अरु समय पर्यटकको पर्खाईमा बितेको गुनासो गर्नुहुन्छ । कोरोना सङ्क्रमणका कारण आफू जस्ता ३०० हाराहारी बेरोजगार हुनुपरेको उहाँको गुनासो छ । बाहिरबाट यहाँ बसोबास गर्ने गाइड सङ्कटमा परेको रिजालले बताउनुभयो । कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा आफूहरु रहेको उहाँको भनाइ छ ।
नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उहाँले छिटो खोप पाए सहज हुने बताउनुभयो । सन् २००८ बाट यो पेशा थाल्नुभएका रिजाल विगतमा अहिलेसम्म यो अवस्था आएको थिएन भन्नुहुन्छ ।
गत वर्ष कोरोना सङ्क्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा विश्वराज सुवेदी कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको बताउनुहुन्छ । सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक रु ५६ लाख र रेस्टुराँमा रु ५२ लाख नोक्सानी हुने उहाँको भनाइ छ । सौराहाका होटलमा रु १५ अर्बभन्दा बढी लगानी छ ।
जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ एक हजार १०० भन्दाबढी छन् । तिनीहरुमा रु १० अर्बभन्दा बढी लगानी भएको भन्दै सुवेदी १२ हजार ५५० ले आंशिक रोजगारी पाएको जानकारी दिनुभयो । त्यसमा बन्द हुँदा दैनिक रु दुई करोड २० लाख नोक्सान भएको सुवेदीको भनाइ छ ।
मेघौलीमा पर्यटन क्षेत्रमा रु एक अर्ब लगानी भएको बताइन्छ । सोह्र उच्चस्तरका होटल रहेको मेघौलीमा ४५० मजदूरले काम गर्ने गरेको उल्लेख गर्दै उहाँले सिजनका समयमा दैनिक रु आठ लाख ५० हजार हाराहारी व्यापार हुने गरेको जानकारी दिनुभयो । रु चार अर्बभन्दा बढी लगानी भएको पटिहानीमा ७०० ले रोजगारी पाएका छन् । होटल राम्रो चल्दा दैनिक रु ११ लाखको व्यापार हुने तथ्याङ्क छ । जिल्लामा रिसोर्ट, होटल, जीप, डुङ्गा, हात्ती, टाँगामा रु ३० अर्बभन्दा बढीको लगानी छ । सुवेदीको भनाइमा जिल्लाका २२५ पर्यटकस्तरीय होटलमा दैनिक रु एक करोड ५० लाख र अन्यमा रु एक करोड ५० लाख हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो ।
जिल्लामा आउने पर्यटकको पहिलो रोजाई जङ्गल सफारी हो । आर्थिक वर्ष २०७२/०७३ मा ८७ हजार ३९१ पर्यटक यहाँ घुमेका थिए । सोमध्ये नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६, तेस्रो मुलुकका ५० हजार १९३ रहेका थिए । अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको सङ्ख्या निकै घटेको थियो । आर्थिक वर्ष २०७३/०७४ मा यो सङ्ख्या एक लाख ३९ हजार ९७८ रहेको थियो । त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९०६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए ।
आव २०७४/०७५ मा क्रमश सङ्ख्या बढेर एक लाख ५२ हजार ६७१ पुगेको थियो । त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९२५ तेस्रो मुलुक र १९ हजार ६९६ सार्कका रहेका थिए । त्यसको पछिल्लो वर्ष २०७५/०७६ मा यो सङ्ख्या बढेर एक लाख ८७ हजार १०९ पुगेको थियो । त्यस वर्ष ४४ हजार ६२३ नेपाली, सार्क मुलुकका २४ हजार ७७९ र तेस्रो मुलुकका एक लाख १७ हजार ७०७ रहेका थिए । आव २०७६/०७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको सङ्ख्या एक लाख ८२ हजार ४३५ पुगेको थियो । नेपाली ८९ हजार ४४१, सार्क मुलुकका १४ हजार २३९ र विदेशी ७८ हजार ७५५ रहेका थिए । चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले सङ्ख्या राम्रो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
गत वर्ष आव २०७२/०७३ कै हाराहारीमा ९२ हजार २०९ पर्यटक मात्र यहाँ घुम्न आएको तथ्याङ्क छ । त्यसमा ८९ हजार ६०१ नेपाली, एक हजार ३६४ सार्क मुलुक र एक हजार २४४ तेस्रो मुलुकका छन् ।