चितवन विशेष
नेपाली कांग्रेस चितवनको सचिवमा पोख्रेलको उम्मेदवारी घोषणा
चितवन, साउन ६
नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस चितवनमा पनि चहलपहल तीव्र बनेको छ ।
कांग्रेसका नेता कार्यकर्ताहरु आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाउने र घोषणा गर्ने क्रम तीव्रै बन्दै गएको छ ।
यसै क्रममा कांग्रेस चितवनको सचिव पदका लागि नेपाल शिक्षक संघ चितवनका निवर्तमान अध्यक्ष ध्रुवराज पोख्रेलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
पोख्रेलले विसं. २०४४ सालमा गोरखाको अन्नपूर्ण माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको सदस्यता ग्रहण गरी आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । पोख्रेल २०४६ सालमा नेपाल विद्यार्थी संघ दुर्गा मावि विजयनगरको अध्यक्ष, २०४९ सालामा कृषि क्याम्पस रामपुरको नेविसंघ सदस्य, सोही साल स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको उम्मेदवार, २०५३ सालामा नेपाली कांग्रेसको कृयाशिल सदस्य, २०५४ सालमा नेपाल विद्यार्थी संघ चितवन क्षेत्र नम्बर ३ को अध्यक्ष, २०५६ सालमा नेपाल विद्यार्थी संघ चितवनको सदस्य पदमा रहेर काम गरिसकेका छन् ।
यस्तै २०६५ सालमा नेपाल शिक्षक संघ चितवनको सचिव, २०६९ सालमा नेपाल शिक्षक संघ चितवनको अध्यक्ष, २०७२ सालमा नेपाल शिक्षक महासंघ चितवनको अध्यक्ष, २०७३ सालमा नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा निमित्त निर्वाचन अधिकृत, २०७४ सालमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको सचिव, २०७६ सालमा विपी अध्ययन प्रतिष्ठान चितवनको अध्यक्ष र हाल नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान चितवनको सचिवमा रही जिम्मेवारी पूरा गरेका पोख्रेल १४ औं महाधिवेशनमा जिल्ला सचिव पदको उम्मेदवारको रुपमा आफूलाई अघि सारेका हुन् ।
स्पष्ट वक्ताको रुपमा चिनिएका पोख्रेल कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई बलियो उम्मेदवारको रुपमा अघि सारेका हुन् । यसअघि सहकारी अभियन्ता भरतप्रसाद दवाडीले पनि मंगलबार सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।