राजनीति
माधव नेपालको सुरक्षामा थप १० जना प्रहरी खटाइयो

काठमाडौं,साउन ५-
गृह मन्त्रालयले आफ्नो मापदण्ड लत्याउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सुरक्षामा खटिने जनशक्ति बढोत्तरीसँगै अर्का पूर्वप्रधानमन्त्रीको सुरक्षा संख्या समेत थपेको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षामा प्रहरी थपिएको उच्च प्रहरी अधिकारीले बताए । नेपालको सुरक्षामा थप १० जना प्रहरी खटाइएको ती प्रहरी अधिकारीले बताए ।
प्रमुख प्रतिपक्ष दल एमालेभित्रको विवादका कारण नेपाल समूहका २२ सांसदले सत्ता गठबन्धनको पक्षमा संसदमा मत हालेका थिए । पार्टीभित्र आपसी दुश्मनी बढ्दै गएकाले पूर्वप्रधानमन्त्री नेपालका लागि सुरक्षाकर्मीको संख्या थपिएको हो ।
राजनीतिक घटनाक्रममा आएको फेरबदलसँगै अन्य पूर्वपदाधिकारीको सुरक्षामा खटिने संख्या थप्न लागिएको पनि ती प्रहरीले दाबी गरे । ‘प्रचण्ड र नेपालमात्र होइन, अन्य केही नेताको पनि सुरक्षा खतरा बढेको छ,’ उनले भने, ‘यसअघिको निर्णयमा परिमार्जनको तयारी भइरहेको छ ।’
























