राजनीति
अहिले मेरो पक्षमा माहोल छ : रामचन्द्र पौडेल

काठमाडौं, साउन ४ –
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो जिल्लाको तनहुँका नेताहरुलाई महाधिवेशनमा सहयोग गर्न आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेलले तनहुँ जिल्लाबाट केन्द्रीय सदस्य रहेका नेताहरुसँग छलफल गर्दै आसन्न महाधिवेशनमा सहयोगका लागि आग्रह गरेका हुन् ।
तनहुँबाट कांग्रेस केन्द्रीय समितिमा पौडेलसहित शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई र ध्रुव वाग्ले रहेका छन् । वाग्ले आमन्त्रित केन्द्रीय सदस्य हुन् । आइतबार काठमाडौंमा चार जना केन्द्रीय सदस्यसँगको छलफलमा नेता पौडेलले आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोगका लागि आग्रह गरेका हुन । पौडेलले गृहजिल्लाका नेताहरुको साथ खोजेका हुन् । ‘अब म अगाडि बढिसकें । अघिल्लो पटक प्राविधिक रुपमा सभापतिमा हारेको हुँ । अहिले मेरो पक्षमा माहोल छ,’ पौडेलले भने, ‘तपाईंहरुले पनि मलाई सहयोग गर्नुपर्यो ।’
तनहुँका चारैजना केन्द्रीय सदस्य पौडेल समूहमा छैनन् । केन्द्रीय सदस्य भटट्राई, भण्डारी र वाग्ले संस्थापन समूहका नेता हुन् भने अर्का केन्द्रीय सदस्य पौडेल तेस्रो समूहसँग नजिक छन् ।
केन्द्रीय सदस्यहरुले नेता पौडेललाई आफ्नो समूहबाट साझा उम्मेदवार बन्न सुझाव दिए । संस्थापननिकट एक केन्द्रीय सदस्यले नेता पौडेललाई सभापति शेरबहादुर देउवासँग सहकार्य गर्न सुझाव दिएका थिए । तर पौडेलले भने आफू सभापतिमै उम्मेदवारी दिने भन्दै अन्य लाभका पदमा चासो नरहेको प्रतिक्रिया दिएका थिए ।
























