Breaking News
नेपालको ठूलो होङ्सी सिमेन्ट उद्योगमा अझै बिजुली पुगेन, दैनिक ६० हजार लिटर डिजेल खपत

नवलपुर, साउन ३-
वैदेशिक लगानीमा नेपालकै ठूलो होङ्सी सिमेन्ट उद्योगमा अझै बिद्युत् सेवा पुग्न सकेको छैन ।
बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनअन्तर्गतको बिजुली उद्योगमा पु¥याउने गरी भइरहेको काम नसकिएकोले अहिलेसम्म विद्युत् सेवा पुग्न नसकेको हो ।
डबल सर्किटसहित भइरहेको काम अन्तिम चरणमा पुगेको बर्दघाट–सर्दी प्रसारण लाइन प्रमुख इन्जिनियर हरि पाण्डेले जानकारी दिए । उद्योग मन्त्रालयको ५७ करोड रुपैयाँ बजेटबाट काम भइरहेको हो । बर्दघाट सबस्टेसनबाट उद्योग रहेको सर्दीसम्म बिजुली लैजान बनाउनुपर्ने ६७ टावरमध्ये ४५ वटा बनेर तारसमेत टाँगिसकिएको छ ।
३६ अर्ब रुपैयाँ लगानीमा सञ्चालित होङ्सीमा पहिलो चरणमा ३२ मेगावाट बिजुलीको माग छ । यसबापत उद्योगले मासिक १५ करोड रुपैयाँ महसुल भुक्तानी गर्नेछ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहे पनि पर्याप्त बिजुली आपूर्ति नहुँदा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ ।
मागअनुसारको विद्युत् नपाएकै कारण हाल डिजेल र कोइलाबाट बिजुली उत्पादन गरेर उद्योग सञ्चालन गरिएको छ । यसका लागि दिनमा कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको उद्योगले जनाएको छ ।
वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक र पानीको आपूर्ति सरकारले गरिदिनुपर्ने भए पनि होङ्सीले मागअनुसारको विद्युत् अझै पाएको छैन । विद्युत् प्राधिकरणले भने भदौं अगाडि नै बिजुली पु¥याउने जनाएको छ ।
























