Breaking News
चितवनमा कोरोना संक्रमणबाट आज दुईको मृत्यु, ४२ संक्रमित थपिए, आईसीयूमा ५८ जना

चितवन, साउन ३-
चितवनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर अस्पतालमा एक जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये एक जना चितवन जिल्लाको र अर्काे एक जना चितवन बाहिरका हुन् ।
त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमित १९१ जना बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ५८ जना, भेन्टिलेटरमा १५ जना, एचडीयूमा ४१ जना र जेनरल बेडमा ९२ जना रहेका छन् । चितवनका विभिन्न अस्पतालबाट विगत २४ घण्टामा २० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
त्यसैगरी आज चितवनमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये भरतपुर महानगरपालिकामा ३३ जना, खैरहनीमा २ जना, रत्ननगरमा ६ जना र कालिकामा १ जना रहेका छन् । योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ५३३ जना पुगेको छ । शनिबार १०३ जनालाई कोरोना संक्रमण देखिएपनि शनिबार सरकारी अस्पतालको प्रयोगशाला बन्द भएर संक्रमितको संख्या निकै कम आएको हो ।
























