Breaking News

चितवनमा सुजिताको मृत्यु प्रकरणले परिवारमा छाएको सन्नाटा

Banner

मनिका विश्वकर्मा, 

चितवन, असार २३ –

सुजिताले स्पर्श गरेका ती काठका भ¥याङ सुनसान देखिन्छ । टिनले छाएको जस्ताको घरमा सिमसिम पानी परेको आवाज तपतप बजिरहेको छ । सुजिताको आमा तल्लो कोठामा मुर्छा परेर रोइरहेकी छन् । सुजितासँगै सुत्ने साइली दिदी कविता पनि चोटामा सुजिताको बिछ्याउनाको सिरानीलाई समाती रुँदै छन् । सुजिताका पुराना फोटोहरु पनि कविताको विस्तारा नजिकै छरपष्ट देखिन्छन् । सुजिताले लगाउने जुत्ताहरु पनि त्यही भ¥याङ नजिकै अलपत्र थिए ।

सुजिताको घरमा आउने सबैको आँखामा आँशु थामिएको थिएन । उनको अपहरणको कुरा थाहा पाएदेखि त्यो घरको चुलोमा आगो बलेको छैन । सुजिताको वृद्ध बाबु आगनको डिलमा आँशु पुछ्दै थिए । सुजिताकी आमा घरभित्र सुतिरहेकी थिइन् । उनको एकछिन पनि आँखा

ओभाएका छैनन् । शरीरको शक्ति नभएर उनी ठाडो उभिन सकेकी छैनन् । केही महिलाहरु भन्दै थिए, ‘आमा तपाइँ नआत्तिनु । अपराधीलाई छिट्टै पक्राउ गरिन्छ । अपराधीलाई कडा भन्दा कडा कारबाही हुन्छ ।’

आगनमा छिमेकीहरु साथै महिला अधिकारकर्मीहरुको लस्कर थियो । सुजिताको परिवार मिडियासँग कुरा नगर्ने अडानमा थिए । हामीले अनुरोध गरेपछि उनीहरु थोरै बोले । यो दृश्य सुजिताको शव फेला परेको दोस्रो दिन मंगलबार दिउँसोको थियो ।

सुजिताकी आमाले दिएको जानकारी अनुसार सुजिता घरबाट बाहिर गएको दिन घरका सबैजना रोपाइँमा व्यस्त थिए । सुजिताकी आमा पनि बिहान सबेरै देखि खेतमा नै व्यस्त थिइन् । सुजिता पढाइमा मेहेनती विद्यार्थी थिइन् । सुजिताले राप्ती नगरपालिकामा नै रहेको बु्द्ध शान्ति माध्यमिक विद्यालयमा १२ कक्षासम्म अध्ययन गरेकी हुन् । त्यसपछि सुजिताले सोही क्याम्पसमा स्नातक चौथो वर्षको परीक्षा दिएर बसेकी थिइन् । घटना हुने दिन सुजिता र कविता माथिल्लो तलामा सुतेका थिए । आमाबुबा भने तल कोठामा नै सुते । बिहानको रोपाइँ भएकोले बाबुआमा चाँडै उठेर खेततिर लागे । बिहानीको समयमा रोपाइँ गर्ने तय भएपछि भण्डारी परिवार तयारीमा थियो । सुजिता भने त्यो दिन सबेरै जितपुरस्थित साथीले तरकारी लिन बोलाएको भनेर घरबाट निस्किइन् । सुजिताको घर पूर्व–पश्चिम राजमार्गको गड्यौलीबाट करिब ३०० मिटर दक्षिणतर्फ पर्छ । सुजिताले अघिल्लो दिन दिदी कवितालाई भोलि साथीको घर जितपुरमा तरकारी लिन जान्छु भनेकी थिइन् ।

कविताको अनुसार सुजिता बिहानै उठेर गएकी थिइन् । जितपुर सुजिताको घरभन्दा पनि दक्षिणतर्फ रहेको छ । कविताले भनिन्, ‘म ओछ्यानबाट उठ्दा बहिनी थिइनन् । अघिल्लो दिन नै मलाई साथीको घरमा तरकारी लिन जान्छु भनेपछि मैले पनि साथीको घर नै गएको भनिठाने । बिहानको समय भएकोेले खेतमा रोपाइँ चलिरहेको थियो । कविता पनि रोपाइँमा गएकी थिइन् । जब रोपाइँ सकेर उनीहरू घर फर्किए । कविताको मोबाइलमा सुजिताको फोनकल आएको रहेछ ।’ फोन फर्काइन् कविताले । एकदुई फोनको घण्टी जाँदै थियो ।

‘सुजिताले आत्तिएको अवस्थामा दिदी मलाई अपरहण गरेको छ । को को आईमाइहरु पनि छन् । मेरो रेप । मलाई बचाऊ । सिमराचोकमा गाडीले सौराहा जाने बाटो सोध्यो । मैले यताबाट जाने भने । मलाई आँखामा के के हाली दियो । मलाई बचाऊ । के केले पिटिरहेको छ ।’ उनले बहिनीले भनेको कुरा सुनाइन् । यत्ति मात्रै भन्दै सुजिताको फोन काटिएको कविताले बताइन् । कविताले भनिन्, ‘मेरो बहिनीको रेप गरेरै मारेको हो जस्तो लाग्छ मलाई ।’

कविताले उक्त कुरा थाहा पाउनै बित्तिकै आमाबाबु भाईलाई खबर गरिन् । सुजिताकी आमाले पनि छोरीको यसरी फोन आएको छ भनेर गाँउमा खबर पु¥याइन् । गाँउका सबैलाई सुजिताको अपरहण भएको खबर थाहा भयो । कतिले त विश्वास गरेनन् भने कतिले विश्वास गरे । भण्डारा प्रहरी चौकीमा उनीहरुले सुजिताको बारेमा बताए । प्रहरीलाई त पहिला विश्वास भएन । आजभोलि आफ्नै परिवारका सदस्यहरुबाट घटना हुनेभएकोले प्रहरीले पनि सुजिता हराउनुमा कतै परिवारको नै त हात छैन भन्ने लाग्यो । परिवारका सदस्यलाई सोधपु्छ गरी प्रहरीले अनुसन्धानको काम अघि बढायो । प्रहरीलाई पनि उमेर पुगेकी सुजिता पोइल पनि जान सक्ने आशंका पैदा भयो । जिल्ला प्रहरी कार्यालयसम्म कुरा नपुगेसम्म स्थानीय प्रहरीको अनुसन्धानको क्रम फितलो नै रहेको पीडित पक्षहरुको कुराले देखाउँछ ।

कविताले भनिन्, ‘मैले प्रहरीलाई बहिनीलाई रेप गरेको जस्तो छ भनेर कुरा गरेको थिएँ, आइमाइ मान्छेहरु पनि छन् , अपहरण गरेको भन्दा प्रहरीले आइमाइले कसरी रेप गर्छ, अपहरण गर्दा हातखुट्टा बाँधेका हुन्छन् कसरी फोन गरिन् सुजिताले । तिमी कुरा लुकाउँदै छौं के कुरा हो प्रष्ट भन्नु भनी उल्टै मलाई प्रश्न गरे । बहिनी हराएको कुरालाई नर्मल(सामान्य) तरिकाले लिएको भएर आज यस्तो भएको हो ।’
कविता सुजिताको अपहरण भन्ने विषयलाई सामान्य तरिकाले लिएको भएर उनको ज्यान गएको बताउँछिन् ।

सुजिताको अपरहण भएको घटना थाहा भएको दिनमा नै डडुवा प्रहरी चौकीका प्रमुख राजिव गिरी घरमा पुगेका थिए । गिरीका अनुसार सुजिताकी दिदी कविताले फोनमा भनेका कुरा अनुसार अनुसन्धानको क्रम अघि बढेको थियो । पहिला त उनीहरुले घरकै सदस्यहरुमाथि अनुसन्धान थालेका थिए । पछिल्लो समय घरबाट नै अपराधहरु घटिरहेको कारण पनि पहिल्यै घरबाट नै अनुसन्धानको कार्य सुरु गरेको गिरीले बताए । कविताले अनुसन्धानको क्रममा सुजिताले फोनमा बोलेको आधारमा बलात्कार गरिएको कुरा नभनेको गिरीले बताए ।

कविताले बहिनी अपहरणमा परेको कुराहरु मात्रै अनुसन्धानको क्रममा बताएको गिरीले भने । ‘बलात्कारको कुरा नै कहिल्यै पनि निकाल्नु भएको थिएन् कविताले । हामीले बरु आइमाइ मान्छे भाको ठाउँमा त्यस्तो कहाँ हुन्छ । नराम्रो नहोला केही हँुदैन भनेर परिवारलाई सम्झाएका थियौं ।’ प्रहरीले सुजिता हराएको पर्सी पल्टबाट उनको खोजीकार्य सुरु गरेको राप्ती नगरपालिकाका उपमेयर इमानसिंन लामाले बताए । प्रहरीले सुजिताको खोजीकार्यमा लागिपरिरहेको नै देखिएको लामाले बताएका छन् । खोजीसंगै हराएको ९ दिनपछि सुजिताको राप्ती नगरपालिकाको ब्रह्मास्थानी सामुदायिक वनमा शव भेटियो । सुनसान घना उक्त वनमा जोकोही एक्लै जान सक्ने अवस्था देखिदैन् । केही चेपाङ समुदायका व्यक्तिहरु च्याउ टिप्न जाँदा शव देखेर स्थानिय जनप्रतिनिधिलाई खबर गरेका थिए । सुजिताको शव पुरै गलेको अवस्थामा थियो । सुजिताको दिदी र भाईले उनको दाँत र कपडाबाट शव चिनेका थिए । सुजिताको अनुहार पुरै सडेको अवस्थामा र आधा शरीर गिलो माटोमा लतपतिएको अवस्थामा रहेको प्रहरीहरु बताउँछन् ।सुजिताको शव भेटिए नजिकै विषको बट्टा भेटिएको थियो । विषको कारण सुजिताको मृत्यु भएको आशंका गरेपनि हत्या नै भएको परिवारको दाबी रहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीका अनुसार सबै घटनाको बारेमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुनेछ । सुजिताको दिदी कविताले पनि स्पष्ट रुपमा फोनमा बोलेका कुराहरु नखोलेको अधिकारीले बताए । कविताले बातैपिच्छे कुराहरु फेरिरहेको उनले बताए । अनुसन्धानको कार्य अघि बढिरहेको उनको भनाइ थियो । विष खाएर सुजिताले आत्महत्या गरेको हुनसक्ने भन्ने आशंका पनि पैदा भएको छ । चिकित्सकहरुले मिडियालाई जानकारी गराए पनि उनको मृत्युको कारणबारे पोष्टमार्टम र भिसेरा जाँचको लिखित रिपोर्ट नआएको अधिकारीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पोष्टमार्टमपछि शव परिवारले काठमाडौँमा नै बुझ्नु हुन्छ । अहिलेसम्म बुझ्नु भएको छैन । उहाँहरुले केही दिनपछि बुझ्ने बताउनु भएको छ ।’ काठमाडौँबाट प्रयोगशालाले लिखित जानकारी दिइसकेपछि मात्र प्रहरीले केही बताउन सक्ने उनले भने ।

मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् । घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन हुन थालेपछि राप्ती नगरपालिकाको राजमार्ग छेउछाउमा प्रशासनले कफ्र्यु पनि लगाएका छन् । विष खाएको वा नखाएको भिसेरा परीक्षणबाट पुष्टि हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>