Breaking News

सुजिताको शव परिवारले काठमाडौँमा बुझ्ने, पोष्टमार्टमबाट मृत्युको कारण खुलेन, भिसेरा जाँचको रिपोर्ट आउँदै

Banner

चितवन, असार २३-

चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर, उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले मिडियालाई बताएका छन् ।

चिकित्सकहरुले मिडियालाई जानकारी गराए पनि उनको मृत्युको कारणबारे पोष्टमार्टम र भिसेरा जाँचको लिखित रिपोर्ट नआएको चितवन प्रहरी प्रमुख ओम अधिकारीले नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ पोष्टमार्टमपछि शव परिवारले काठमाडौँमा नै बुझ्नु हुन्छ । अहिलेसम्म बुझ्नु भएको छैन । उहाँहरुले केही दिनपछि बुझ्ने बताउनु भएको छ ।’ काठमाडौँबाट प्रयोगशालाले लिखित जानकारी दिइसकेपछि मात्र प्रहरीले केही बताउन सक्ने उनले जानकारी दिए ।

मृत्युको कारण स्पष्ट नभएको अवस्थामा भिसेरा जाँच गर्ने गरिन्छ । यसबाट मृतकले जीवित रहँदा खाएको कुरा र मृत्युअघि कुनै रोग भएको भए, त्यसबारे पनि थाहा हुने चिकित्सकहरु बताउँछन् ।

आइतबार राप्ती नगरपालिकाको ब्रह्मास्थानी सामुदायिक वनमा भण्डारीको शव भेटिए नजिकै विषको बट्टा पनि बरामद भएको थियो । त्यही खाएर भण्डारीले आत्महत्या गरेको हुनसक्ने आशंका पनि छ । विष खाएको वा नखाएको भिसेरा परीक्षणबाट पुष्टि हुन्छ । शव भेटिनु नौ दिनअघि परिवारले भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिएकोले स्थानीयले बलात्कारपछि हत्या हुन सक्ने आशंका गरेका थिए । तर, भण्डारीको योनीको जाँच गर्दा जबरजस्ती करणीको कुनै संकेत नदेखिएको काठमाडौँको प्रयोगशाला स्रोतले जनाएको छ ।

तर, अपहरणको कुनै सकेत नदेखिँदा प्रहरीले भण्डारीको सम्बन्धको विषयमा विश्लेषण गरेर अनुसन्धान गरिरहेको थियो । त्यहीबीच उनको शव भेटिएपछि घटना रहस्यमय बनेको छ । घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग गर्दै चितवनमा दिनहुँ प्रदर्शन हुन थालेपछि आज राप्ती नगरपालिकाको राजमार्ग छेउछाउमा प्रशासनले कफ्र्यु लगाएको छ । आज राजमार्ग क्षेत्र शान्त रहेको चितवन प्रहरी प्रवक्ता सूर्य थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>