राजनीति
देउवाको विकल्पमा विमलेन्द्र, शशांक र प्रकाशमानको मोर्चाबन्दी

काठमाडौं,असार ७-
कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेसँगै दोस्रो तहका नेताले सक्रियता बढाएका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठस्थित आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर छलफल गरेसँगै सभापतिका आकाक्षीमा रहेका नेताहरु छलफलमा जुटेका हुन्।
सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ। उपसभापति निधिले नेताहरुलाई निवासमै बोलाएका हुन् । उनिहरुले मोर्चाबन्दी गर्नसक्ने आकलन गरिएको छ । निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । कांग्रेसका संस्थापक वीपी कोइराला, महेन्द्रनारायण निधि र गणेशमान सिंहका पुत्र तीनै जनाले सभापति आकांक्षा राखेका छन्।
उपसभापति निधि सभापति देउवाका विश्वासिला पात्र हुन्। गुटमा मात्र नभई कांग्रेसमा देउवाको उत्तराधिकारीका रूपमा निधि चिनिन्छन्। विद्यार्थी राजनीतिदेखि निधिले देउवालाई बलियो साथ दिँदै आएका छन्। १३ औं महाधिवेशनमै देउवाले अर्को पटक निधिलाई सभापतिमा सहयोग गर्ने वचन दिएको कतिपय कांग्रेस नेता बताउँछन्। तर देउवाले सभापतिमै दोहोरिने चाहना राखेपछि पार्टीको नेतृत्व गर्ने निधिको चाहनामा चुनौती थपिएको छ। निधि महाधिवेशनसम्मै आफ्नो तयारीलाई अगाडि बढाउने र संस्थापनभित्रै आफ्नो पक्षमा माहोल बढाउँदै लैजाने पक्षमा छन्। सभापतिमा दोहोरिने देउवाको इच्छा बुझेका निधी दबाब बढाउँदै लैजाने रणनीतिमा छन्।
























