समाज
सीडीओलाई गृहमन्त्रीको निर्देशनः नाकामा कडाई गर,निषेधाज्ञा खुकुलो बनाउ
काठमाडौं,जेठ ३०-
गृह मन्त्रालयले कानुन विपरितका गतिविधिमा कुनै पनि किसिमको सम्झौता नगर्न देशभरका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई १२ बुँदे परिपत्र गर्दै उक्त निर्देशन दिएका हुन ।
परिपत्रमा अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न, चुनावी रणनीति तयार पार्न र सरकारबाट सञ्चालित बिकासे आयोजना समयमै सम्पन्न हुने गरी तदारुकताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशासन र सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले मन्त्रीबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयनका लागि सबै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई परिपत्र गरिएको बताए । गृहमन्त्री अधिकारीको पदभार ग्रहणपछि गृहले शान्ति सुरक्षा, कोभिड संकट व्यवस्थापन, सीमा सुरक्षा एवं अपराध अनुसन्धान तथा नियन्त्रणमा पनि केन्द्रीत रहन निर्देशन दिएको छ ।
अधिकारीलाई गृह सचिव महेश्वर न्यौपानेले मन्त्रालय र सुरक्षा निकायबाट भइरहेका कार्यसम्पादनको अवस्थाबारे ब्रिफिङ गरेका थिए । त्यसपछि मन्त्रीले आगामी निर्वाचन, कोभिड–संकट व्यवस्थापन, जारी जिषेधाज्ञा र सुशासनका विषयमा निर्देशन दिएका थिए । मन्त्री अधिकारीको निर्देशनपछि मन्त्रालयले निषेधाज्ञाका कारण बन्द व्यापार/व्यवसाय जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नेसम्बन्धी कार्ययोजना पेश गर्न पनि परिपत्रमा भनिएको छ । गृहको परिपत्रमा जनस्वास्थ्यका मापदण्डलाई पालना गर्दै निषेधाज्ञामा बन्द रहेका आर्थिक गतिविधि सुचारु गर्ने खाका पेश गर्न भनिएको छ ।

























