फोटो फिचर
मृतकको सम्झनामा हिन्दु–मुस्लिमको संयुक्त श्रद्धाञ्जली सभा (तस्बिर)

सिरहा, साउन २१ –
हालै सिरहा र सुनसरीमा भएको हिंसात्मक झडपमा मृत्यु भएका चार जनाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
साम्प्रदायिक तनाव अन्त्य गर्दै सामाजिक सद्भाव पुनःस्थापित गर्ने उद्देश्यले उद्योग व्यापार संघ गोलबजारले बिहीबार हिन्दु–मुस्लिम समुदायको सहभागितामा संयुक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो ।
घटनापछि हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न अविश्वास अन्त्य गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने सन्देशसहित संयुक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा सुनसरीका तीन जना र सिरहाका एक जना मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुवै समुदायका प्रतिनिधिले शान्ति, सहिष्णुता, आपसी विश्वास र सामाजिक एकतालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको थियो । साउन १० को घटनापछि सिरहाको गोलबजारमा भएको प्रदर्शनको क्रममा साउन १४ मा अर्का किशोर गणेश यादवले ज्यान गुमाएका थिए ।
तस्बिरः सुरेश राय/नेपाल फोटो लाइब्रेरी






























