Breaking News

चितवनका कोरोना संक्रमितमा अनुहार बिगार्ने ‘कालो ढुसी’ देखिन सक्ने भएकोले सचेत रहन अपिल

Banner

चितवन, जेठ १९-

चितवनका कोरोना संक्रमितमा अनुहार बिगार्ने ‘कालो ढुसी’को समस्या देखिन सक्ने भएकोले सचेत रहन जनस्वास्थ्य कार्यालयले अपिल गरेको छ ।

स्वास्थ्य कार्यालय चितवन आज एक सूचना समाजिक सञ्जामार्फत् पोष्ट गर्दै कालो ढुसीबारे सर्वसाधारणलाई सचेत गराएको हो । चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले चितवनमा आजसम्म कोरोना संक्रमितमा ‘कालो ढुसी’ को असर नदेखिए पनि देशका अन्य भागमा देखिएकोले भविष्यमा फैलन सक्ने सम्भावना देखि नागरिकलाई सचेत गराइएको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन्, ‘ कालो ढुसीको यस्ता लक्षण र रोकथाम हुन्छ भनेर स्वास्थ्य कार्यालयले सचेत गराएको हो ।’

स्वास्थ्य कार्यालयले सामाजिक सञ्जालमा पोष्ट गरेको सचेतनामूलक विज्ञापनमा यसको संक्रमणबाट मानिसको अनुहार बिग्रन सक्ने खतरा रहेको जनाइएको छ । यसको संक्रमणपछि अनुहार, मुख, आँखा वरिपरी दुख्ने, नाक वरिपरीको छाला कालो हुँदै जाने, ज्वरो आउने, दाँत दुख्ने तथा हल्लिने र आँखा धमिलो देख्ने हुन्छ । शरिरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, मधुमेह भएका वा डाक्टरको सल्लाहबिना कुनै एन्टिबायोटिक प्रयोग गर्नेहरुमा कालो ढुसीको संक्रमण हुन सक्ने उच्च जोखिम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी यसबाट बच्नको लागि घरमा आइसोलेसनमा रहेका नागरिकहरुले विशेष सर्तकता अपनाउनुपर्ने जनाइएको छ । कोरोना संक्रमितले सफा र स्वच्छ माक्स प्रयोग गर्ने, नियमितरुपमा हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नगएमा यस संक्रमणबाट बच्न सकिन्छ । त्यसैगरी यसको संक्रमणबाट बच्न स्वास्थ्यकर्मीको सरसल्लाहमा मात्र औषधि प्रयोग गर्नुपर्छ भने नुनिलो पानीले नाक सफा गर्नुपर्छ । एक व्यक्तिबाट अर्काेमा नसर्ने यो संक्रमणबाट बच्न मधुमेहका रोगीले सुगरलाई नियन्त्रणमा राख्नुपर्छ ।

चितवन मेडिकल कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीले वीरगञ्ज र काठमाडौंतिरका १२ वटा जति कोरोना संक्रमितमा यसको संक्रमण देखिएको नारायणी अनलाइनलाई बताए । यसको मृत्युदर ५४ प्रतिशतसम्म रहेको उनले बताए । उनले भने, ‘ कालो ढुसीबाट आँखाको दृष्टि गुम्ने सम्भावना पनि हुन्छ । यसको संक्रमण बढ्यो भने उपचार गर्न निकै खर्चिलो हुन्छ । जहाँ जहाँ संक्रमण फैलिएको छ पूरै अपरेसन गर्नुपर्छ ।’ उनले देशका विभिन्न भागमा देखिएकोले सचेत भने बन्नुपर्ने जनाए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>