Breaking News
चितवनमा आज एकैदिन ६ कोरोना संक्रमितको मृत्यु, १६६ संक्रमित थपिए

चितवन, जेठ १७-
चितवनमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने १६६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा ११७ जना, खैरहनीमा ९ जना, माडीमा ८ जना, रत्ननगरमा २० जना, राप्ती नगरपालिकामा ४ जना, कालिकामा ५ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कारोना संक्रम देखिएको हो ।
यो सँगै चितवनमा संक्रिय संक्रमितको संख्या चार हजार ८५७ पुगेको छ । चितवनमा आजसम्म २१९ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका ६ जना मध्ये चितवनको १ जना र अन्य जिल्लाको ५ जना रहेका छन् । मृतकमध्ये भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ४ जना र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार चितवनका विभिन्न अस्पतालमा ३७३ जना कोरोना संक्रमित बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १७२ जना, भेन्टिलेटरमा ४५ जना, एचडीयूमा ४१ जना र जेनरल बेडमा १६० जना रहेका छन् । त्यसैगरी विगत २४ घण्टामा ४४ जना बिरामी डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
वागमती प्रदेश सरकारद्वारा मदन भण्डारी फाउण्डेसनलाई दिएको ५० लाख सहयोग फिर्ता
हेटौंडा, जेठ १७
माओवादी केन्द्रको विरोधले गर्दा वागमती प्रदेश सरकारले मदन भण्डारी फाउण्डेसनलाई दिएको सहयोग रकम फिर्ता गरेको छ ।
प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउण्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले फाउण्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको पौडेलले बताएका हुन् ।
‘मदन भण्डारी फाउण्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भएको छ,’ पौडेलले भने, ‘यसर्थ फाउण्डेसनलाई दिइएको रकम ५० लाख फिर्ता गरिएको छ ।’
प्रदेश सरकारले सबै प्रतिष्ठानहरूलाई उपलब्ध गराउँदै आएको सहयोग रकम रोक्ने संकेत गरेको छ । मुख्यमन्त्री पौडेलले आगामी वर्षका लागि वीपी स्मृति प्रतिष्ठान, जीपी स्मृति प्रतिष्ठानलगायतका थुप्रै प्रतिष्ठानले सहयोगको लागि निवेदन दिएकोले प्रश्न चिह्न खडा भएको बताए ।
‘वीपी र जीपी प्रतिष्ठानहरूले सहयोगका लागि निवेदन दिइसकेका छन्,’ उनले भने, ‘अब भोलिका दिनमा के हुन्छ ? प्रश्न चिह्न खडा भएको छ ।’
उनले प्रदेश सरकारले विगतमा अग्रज राजनीतिज्ञको नाममा स्थापित प्रतिष्ठानलाई सहयोग गरेको भन्दै मदन भण्डारीको नामसँग जोडिएको विषय मात्रै किन उठेको भन्दै प्रश्न गरेका थिए ।
‘विगतमा पोष्टबहादुर बोगटी स्मृति पार्क, तुलसीलाल स्मृति प्रतिष्ठान, सुवर्ण शमशेर प्रतिष्ठान, सहिद प्रतिष्ठान नेपाल भरतपुर, लोककल्याण सेवा प्रतिष्ठानहरूलाई सहयोग उपलब्ध गराइसकिएको छ,’ उनले भने, ’तर, मदन भण्डारीको नामसँग मात्रै किन विषय उठ्यो, भोलिका दिनमा समिक्षा होला नै ।’
उनले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापनाको तयारीदेखि, कोरोना परीक्षण गर्ने व्यवस्था मिलाएको जानकारी दिए ।
























