देश/प्रदेश
राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कारको दुष्परिणाम देशले भोगिरहेको छः सभापति

काठमाडौँ, जेठ १५–
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोगिरहेका बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै देउवाले गणतन्त्र दिवसमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न उनले समस्त नेपालीमा अपील गरेका छन् ।
सभापति देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताए ।लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको बिषय बन्दछ र बन्नु पर्दछ भनेका छन् ।
देउवाले विज्ञप्तीमा भनेका छन्– ‘कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुन्छ । लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समिक्षाको बिषय बन्दछ र बन्नु पर्दछ । देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं । अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपील गर्दछु ।’
























