साहित्य

‘ओ शासक ! तिम्रो दिमाग कहाँ छ ?’

Banner

सुदर्शन अधिकारी-

उखुको झ्याङ्भित्रबाट
अझै आवाज आइरहन्छ
‘दाइ ! मलाई बचाउनुस् !’
अस्पतालबाट
बिरामीका आफन्त अझै हारगुहार गरिरहेछन्
‘लौ न रगत ! लौ न अक्सिजन ! लौ न उपचार !’
परदेशबाट
खबरहरु आइरहन्छन्
‘छोरो रहेन ! बा रहनुभएन !’
सत्ताको कौशीमा बसेर
शासक
घोक्रो फुलाउँदै कराइरन्छ
‘का…..ग ! का…….ग ! का……ग !’
गरीबको भान्सामा भोक अट्टाहास हाँसिरहेछ !
सरकार सडकमा नाङ्गै दौडिरहेछ !
कोही आफ्नै कपडा च्यातेर
ढाक्न खोजिरहेको छ सरकारको आङ !
तर सरकार आँखा चिम्लेर
दौडिरहेकै छ लगातार
नाङ्गै,
र कुल्चिरहेकै छ फुटपाथमा भोको निदाएका पेटहरु !
बोल्न नसकेर,
बोल्न नजानेर,
बोलीको सुनुवाइ नभएर,
बोल्नुको अर्थ नदेखेर,
चुपचाप चुपचाप छन् जनताहरु ।
म,
यो मुलुकको सबैभन्दा क्रान्तिकारी कवि,
हातमा मोबाइल बोकेर
थिचिरहेछु लगातार
‘हार्दिक श्रद्धाञ्जली !’
र आफ्नै काँध थपथपाइरहेछु
‘स्याबास् कवि, स्याबास् !’
पिँजडाभित्रबाट
केही सुगाहरु रटिरहेछन्
ओ शासक ! तिम्रो दिमाग कहाँ छ ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>