Breaking News

चितवनको कालिका नगरपालिका प्रदेशमै कमजोर बन्नु लाजमर्दाे: कांग्रेस सभापति श्रेष्ठ

Banner

चितवन, जेठ १३-

चितवन कांग्रेस सभापति जितनारायण श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र कालिका नगरपालिका वाग्मती प्रदेशमा सबैभन्दा कमजोर बन्नु लाजमर्दाे भएको बताएका छन् ।

श्रेष्ठले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कालिका बागमती प्रदेशको नगरपालिकाहरुमध्ये सबैभन्दा कमजोर भएको भन्दै यो विषय नगरको नेतृत्वकै असफलता भएको बताएका हुन् ।

सभापति श्रेष्ठले नारायणी अनलाइनसँग प्रतिक्रिया व्यक्त गर्दै नगर प्रमुखले बोर्ड बैठकनै बस्न सकेन भनेर मिडियालाई प्रतिक्रिया दिनु जिम्मेवारी बोध नै नभएको बताए । उनले भने, ‘प्रशस्त सम्भाव्यता बोकेको नगरपालिका हुँदा हुँदै पनि प्रदेशमै कमजोर बन्नु निकै लज्जाको विषय हो । मेरो जन्मभूमि तथा निर्वाचन क्षेत्र भएकोले पनि म निकै दुःखी भएको छु । नगरपालिकामा कांग्रेसका निर्वाचित जनप्रतिनिधिहरु भए पनि मेयर र उपमेयर नै सर्वेसर्वा भएकोले सबै दोष उनीहरु माथि नै जान्छ ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमूल्याङ्कनमा कालिका बागमती प्रदेशका नगरपालिकाहरुमा धेरै कमजोर देखिएको थियो । एक हजार ११ सूचकलाई १०० पूर्णाङ्क मानी प्रतिशतका आधारमा निकालिएको स्वमूल्याङ्कन नतिजामा कालिका नगरपालिकाले ४३.५ प्रतिशतमात्र अंक प्राप्त गरेको थियो । १० वटा स्वमूल्याङ्कन विषयगत क्षेत्रहरुमध्ये सो नगरपालिकाले सात शीर्षकमा ५० प्रतिशत अंकसमेत प्राप्त गर्न सकेको थिएन ।

कालिकाले संगठन र प्रशासनमा ३१.२५ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ३८.६४ प्रतिशत वित्तीय तथा आर्थिक योजना व्यवस्थापनमा ४३.१८ प्रतिशत, सेवा प्रवाहमा ४२.१९ प्रतिशत ल्याएको थियो ।

त्यस्तै भौतिक पूर्वाधार विकासमा २६.९२ प्रतिशत, सामाजिक समावेशीकरणमा १५ प्रतिशत, सहकार्य र समन्वयमा ४१.६७ प्रतिशत अंक प्राप्त गरेको थियो । त्यसैगरी, सो नगरपालिकाले शासकीय प्रबन्धमा ७७.७८ प्रतिशत, न्यायिक कार्यसम्पादनमा ८५.७१ प्रतिशत र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५२.७८ प्रतिशत अंक प्राप्त गरेको थियो ।

सो नगरपालिकाले खरिद गुरूयोजना र वार्षिक योजना तयार नगरेको, बालविवाहविरुद्धका सचेतनामूलक कार्यक्रम नगरेको, शिशु स्याहार केन्द्र्र, बालगृह स्थापना तथा व्यवस्थापनको भौतिक रुपमा काम नभएको २०७६÷०७७ मा सार्वजनिक सुनुवाइ नगरेको पाइएको थियो ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल तथा दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन वाञ्छनीय भएकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।

चितवन जिल्लामै पुछारबाट दोस्रो कमजोर नगरपालिकाको रुपमा देखिएको माडी नगरपालिकाले संस्थागत क्षमता स्वमूल्याकंनमा ५०.७८ प्रतिशत मात्रै अंक ल्याएको थियो भने पुछारबाट तेस्रो कमजोर नगरपालिका रत्ननगर नगरपालिकाले ५४ प्रतिशतमात्र अंक प्राप्त गरेको थियो ।  एकमात्र गाउँपालिका इच्छाकामनाले ५३.२५ प्रतिशत अंक प्राप्त गरेको छ । स्वमूल्याङ्कनमा चितवनमा सबैभन्दा बढी अंक खैरहनी नगरपालिकाले ७८ प्रतिशत, दोश्रो राम्रो अंक राप्तीले ७६ प्रतिशत अंक प्राप्त गरेका थिए । यसैगरी भरतपुर महानगरपालिकाले ६९ प्रतिशत प्राप्त गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>