Uncategorized

खैरहनीको कुमरोजमा पशु आहार मिलको शिलान्यास

Banner

चितवन, जेठ १२-

चितवनको खैरहनी नगरपालिका–१३ कुमरोजमा साझेदारीमा पशु आहार दाना मिल निर्माण सुरु भएको छ ।

खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले आज बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै भवन निर्माण पनि सुरु भएको हो ।
सो अवसरमा मेयर चौधरीले खैरहनी कृषिको सम्भावना बोकेको नगरपालिका भएकाले नगरपालिकाले पनि कृषिलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । खैरहनीमा धान, गहुँ, केरा, माछा र पशुपालनको संभावना बोकेको नगर हो मेयर चौधरीले भने , ‘त्यसैले नगरपालिकाले साना किसानलाई महत्व दिएको छ ।’ नगरपालिका भित्र निर्माण भएका डेरी उद्योग, धान मिल, पशु आहार, बीउ प्रशोधन केन्द्रमा आवश्यक बजेट उपलव्ध गराएको मेयर चौधरीले बताए ।

कृषकहरुलाई नै मध्यनजर गर्दै प्रदेश सरकारसँगको साझेदारीमा शीत भण्डार समेत निर्माण गरेको उनले बताए । कुमरोजमा निर्माण सुरु भएको पशु आहार मिलमा नगरपालिकाबाट प्राप्त १५ लाख अनुदान, साना किसान कृषि सहकारी संस्था कुमरोज र साविक कुमरोज गाविस भित्र रहेका दुग्ध उत्पादक सहकारी संस्थाको लगानी हुने छ । मिलका लागि आवश्यक मेसिन भने वागमती प्रदेश सरकारले उपलव्ध गराइसकेको साना किसान कृषि सहकारी संस्था कुमरोजका उपाध्यक्ष गीतानाथ अर्यालले जानकारी दिए । अर्यालका अनुसार एक घण्टामा १० क्विन्टल दाना उत्पादन गर्न सक्ने क्षमताको मेसिन रहेको छ । सुरुमा साविक कुमरोज गाविसका किसानले यसबाट प्रत्यक्ष फाइदा लिन पाउने भन्दै अर्यालले क्रमशः नगरका सवै वडा र रत्ननगरको बछौलीका किसान समेत लाभान्वित हुने बताए । कुमरोज कृषि सहकारीकै जग्गामा अहिले बीउ प्रशोधन तथा भण्डार केन्द्र समेत निर्माण भइरहेको छ । कृषि सहकारीका उपाध्यक्ष अर्यालको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा खैरहनी १२ का वडाध्यक्ष टिकाराम तिमल्सिना,१३ की कार्यवाहक वडाध्यक्ष टिका दाहालले स्थानीयस्तरमै गुणस्तरीय दाना उत्पादन भएपछि दूध उत्पादनमा समेत बृद्धि हुने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>