राजनीति
सरकारको समर्थन फिर्ता लिने/नलिने विषयमा एमाले प्रदेश संसदीय दलको बैठक

धनगढी, जेठ १२
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सुरू भएको छ । आज बिहान साढे ८ बजे बोलाइएको बैठक सुरू भएको हो । एमाले सुदूरपश्चिमका सचेतक तारा लामा तामाङका अनुसार बैठकमा २० जना सासंद सहभागी छन्। सभामुखबाहेक अरू तीन जना सांसद बैठकमा उपस्थित भएका छैनन्।
आजको बैठकमा ओली पक्षका रतन थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट अनुपस्थित छन्। संसदीय दलका नेता प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बैठक आह्वान गरेका हुन्। बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरिसकेको भए पनि प्रदेशमा एमालेका बहुमत सांसद माधव नेपाल पक्षका छन्। उनीहरूले माओवादी केन्द्रकै वर्तमान सरकारलाई समर्थन गर्न सक्ने सम्भावना छ। एमाले सुदूरपश्चिम कमिटीले भने सरकारबाट फिर्ता नआउने मन्त्रीलाई कारबाही गर्ने चेतावनी दिएको छ।
























