क्रिकेट
आइपिएलः दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित
काठमाडौं, वैशाख ६–
इन्डियन प्रिमियर लिग (आईपिएल) मा साविक उपविजेता दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगिता दोस्रो जित दर्ता गरेको हो ।
दिल्लीलाई जिताउन ओपनर शिखर धवनले उत्कृष्ट ब्याटिङ गरे । १९६ रनको लक्ष्य पछ्याउने क्रममा धवनले ४९ बलमा ९२ रन बनाए । उनले १३ चौका र २ छक्का प्रहार गरे । धवनकै उत्कृष्ट व्याटिङमा दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
अर्का ओपनर पृथ्वी शले ३२ रन बनाए। १७ बल खेलेका पृथ्वीले ३ चौका र २ छक्का प्रहार गरे । यस्तै दिल्लीका लागि डेब्यु गरेका स्टेभ स्मिथ ९ रन बनाएर आउट भए । कप्तान ऋषभ पन्तले १५ रन मात्रै बनाए ।
मार्कुस स्टोइनिस अविजित २७ र ललित यादव अविजित १२ रन बनाए । पञ्जाबका लागि रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिए ।
त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रनको विशाल योगफल तयार पारेको थियो । आक्रामक शुरुवात गरे पनि पञ्जाबले गतिलो फिनिसिङ भने गर्न सकेन ।
पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १२२ रनको साझेदारी गरेका थिए । तर यी दुई खेलाडी आउट भएपछि पञ्जाबको रन गति रोकियो । अग्रवालले सर्वाधिक ६९ रन बनाए । उनले ३६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । राहुलले ६१ रन जोडे । दीपक हुडाले अविजित २२ रन बनाए । शाहरु खानले अविजित १५ रन जोडे ।
बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १–१ विकेट लिए ।
दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
दोस्रो हारपछि पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।

























