राजनीति

राजनीतिक बिटका पत्रकारसँग सरकारका प्रवक्ताको छलफल स् सूचना प्रवाहलाई थप प्रभावकारी बनाइने

Banner

काठमाडौँ, साउन १९-
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक बिटमा कार्यरत विभिन्न सञ्चार माध्यमका पत्रकारसँग छलफल गर्दै सरकारी सूचना प्रवाहलाई थप पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभएको छ ।

आज सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पोखरेलले सरोकारवालाबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्दै आगामी दिनमा यस्ता संवादलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले अन्तर मन्त्रालय समन्वयमार्फत आधिकारिक सूचना दिने व्यक्तिको व्यवस्था गरी सूचना प्रवाहलाई थप चुस्त र प्रभावकारी बनाइने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले खेलकुद क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अल्पकालीन तथा दीर्घकालीन रणनीतिअनुसार महत्त्वपूर्ण कामको थालनी गरिसकेको उल्लेख गर्नुभयो । सरकारी सूचना प्रवाह सुधार, पत्रकारहरूले सूचना सङ्कलनका क्रममा भोगिरहेका चुनौती तथा सरकार–सञ्चार माध्यमबीचको समन्वय सुदृढ बनाउने विषयमा छलफल भएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरूले सरकारी सूचनामा सहज पहुँच सुनिश्चित गर्न, सूचना प्रवाहलाई थप सहजीकरण गर्न तथा सरकारका निर्णय र समसामयिक विषयमा नियमित अन्तरसंवादको वातावरण बनाउन सुझाव दिएका थिए । उनीहरूले सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले पत्रकारसँगको संवादलाई निरन्तरता दिँदै सूचना प्रवाहलाई अझ पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमा शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, सरोज गौतम तथा मन्त्रालयका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । साथै कान्तिपुर, हिमालय टेलिभिजन, अनलाइन खबर, सेतोपाटी, रातोपाटी, नेपाल खबर, क्लिकमाण्डु, न्यूज एजेन्सी नेपाल, नेपाल टाइम्स, शिलापत्र, बाह्रखरीलगायत राष्ट्रिय सञ्चार माध्यमका राजनीतिक बिट हेर्ने पत्रकारहरूको उपस्थिति थियो ।

मन्त्री पोखरेलले पछिल्लो समय शिक्षा, सञ्चार तथा अन्य समसामयिक विषयमा सञ्चारमाध्यम, पत्रकार, शैक्षिक संस्था तथा निजी क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

यसअघि मन्त्री पोखरेलले शिक्षा बिटमा कार्यरत पत्रकार तथा सरकारी सञ्चार माध्यमका प्रधान सम्पादक, समाचार प्रमुख तथा प्रतिनिधिहरूलगायतसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो । मन्त्रालयले यस्ता अन्तरक्रियाले सरकार र सञ्चार माध्यमबीचको सहकार्यलाई थप प्रभावकारी र विश्वासिलो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>