Breaking News
चितवनमा दुई दिनमा कोरोना संक्रमण दोब्बर, थप १८ जनामा कोरोना संक्रमण देखियो

चितवन, वैशाख १-
पछिल्लो २४ घण्टामा चितवनमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ ।
चितवनको कोरोना संक्रमण दर दुई दिनमा दोब्बर बढेको हो ।
जनस्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार चैत २७ गते कोरोना संक्रमण चार जनामा देखिएको थियो । चैत ३० गते संक्रमण बढेर सात जनामा पुग्यो भने चैत ३१ गते अर्थात् मंगलबार संक्रमण बढेर १४ जनामा देखियो । चितवनमा कोरोना संक्रमण निरन्तर बढेर आज वैशाख १ गते १८ जनामा देखिएको छ । सोमबारबाट बुधबारसम्म दुई दिनमा नै संक्रमण दोब्बर भएको हो । आज थपिएका संक्रमित मध्ये १७ जना भरतपुरका छन् भने एक जना रत्ननगरका हुन् ।
आज संक्रमित थपिएसँगै चितवनमा संक्रमितको संख्या सात हजार १० पुगेको छ । चितवनमा कोरोना संक्रमणबाट ११२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी चितवनका थप १८ सहित देशभर ६०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर र एन्टिजेन्ट विधिबाट गरिएको परीक्षणमा थप ६०३ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या चार हजार ५६ पुगेको छ ।
२४ घण्टामा पीसीआर विधिबाट चार हजार २८९ जनाको परीक्षण गर्दा ५३८ जनामा संक्रमण पुष्टि भएको हो भने ४५१ जनाको एन्टिजेन्ट परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो ।
प्रवक्ता गौतमका अनुसार उपत्यकामा मात्र २५४ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा डिस्चार्ज १२९ जना डिस्चार्ज भएका छन् । अहिले आईसीयूमा ८० जनाको उपचार भइराखेको छ भने २५ जना भेन्टिलेटरमा छन् । नेपालमा कोरोना जित्नेको संख्या ७९ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
























