चितवन विशेष
भरतपुरमा आमसञ्चारका दुई प्राध्यापक सम्मानित

चितवन, चैत २८-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चार तथा पत्रकारिता विषयका दुई सहायक प्राध्यापक मधुसूदन दवाडी र दिपेन्द्र अधिकारी सम्मानित भएका छन् ।
चैत २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनमा वाग्मती प्रदेश परिषद् सदस्यको रुपमा दवाडी र पत्रकार महासंघ चितवनको सचिवमा अधिकारी निर्वाचित भएको भन्दै सम्मानित भएका हुन् ।
सप्तगण्डकी क्याम्पसका क्याम्पस प्रमुख मणिराज महतो र आमसञ्चारका विद्यार्थीहरु महेश भट्ट र विकास रसाइलीले खादा र अबिर लगाएर सम्मानित गरेका थिए । बीए प्रथम वर्ष आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा क्याम्पस प्रमुख महतोले सप्तगण्डकीका दुई जना प्राध्यापक पत्रकार महासंघ चितवनको नेतृत्व तहमा पुग्नु क्याम्पसको लागि गर्वको विषय भएको बताए । उनले भने, ‘ सप्तगण्डकीका विद्यार्थीहरुलाई आमसञ्चारको क्षेत्रमा अझ अब्बल र व्यवसायिक बनाउनमा उहाँहरुको महत्वपूर्ण भूमिका खेल्नुहुन्छ । हाम्रो विद्यार्थीहरुले देश तथा विदेशमा सञ्चार क्षेत्रमा निकै उत्कृष्ट काम गरेर कमाएको ख्याति पनि प्राध्यापकहरुकै देन हो ।’
कार्यक्रममा सम्मानित व्यक्तित्व आमसञ्चार विषयका सहायक प्राध्यापक दवाडीले आफूहरुको जीतले भविष्यमा विद्यार्थीहरुलाई सञ्चार क्षेत्रमा अगाडि बढाउन थप सहयोग पुग्ने आशा व्यक्त गरे । उनले भने,‘ पत्रकारहरुको मुख्य कमाइ भनेको नै जनसम्पर्क हो । हामी हाम्रो जनसम्पर्क विद्यार्थीहरुको पेसागत उन्नति र प्रगतिका लागि खर्च गर्ने छौं ।’
त्यसैगरी कार्यक्रममा अर्का सहायक प्राध्यापक दिपेन्द्र अधिकारीले विद्यार्थीहरुलाई पत्रकारिताको पेसागत दक्षता अभिवृद्धि गर्नमा निरन्तर लागि रहने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ प्राध्यापकलाई विद्यार्थीको सम्बन्ध सधै उच्च र पवित्र रहन्छ । सहयोग र सम्पर्क सधै निरन्तर रहनुपर्छ ।’ पूजा ढकालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरु रविकिरण रेग्मी, विकास रसाइली, प्रमिला तामाङ र रोमित थापाले शुभकामना मन्तव्य राखेका थिए ।

























