खैरहनी
कठारका सुत्केरी महिलालाई पौष्टिक आहारका लागि अनुदान

चितवन, चैत २७–
चितवनको कठार स्वास्थ्य चौकीले सुत्केरी महिलाहरुलाई पौष्टिक आहारको लागि नगद प्रदान गरेको छ । खैरहनी नगरपालिका वडा नं १० ले चालू आर्थिक वर्षका लागि सामाजिक विकास तर्फ ‘सुत्केरी महिलाहरुलाई पौष्टिक आहारका लागी अनुदान’ शिर्षकमा विनियोजित बजेटबाट यहाँका सुत्केरी महिलालाई एक हजारका दरले रकम प्रदान गरिएको हो ।
गत साउनदेखि हालसम्म नेपाल सरकारद्वरा सुचिकृत स्वास्थ्य संस्थामा सुत्केरी सेवा लिएका महिलाहरुलाई एक हजारका दरले नगद अनुदान वितरण गरिएको कठार स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक नवीन नेपालले बताए । बिहिबार शुभारम्म गरिएको कार्यक्रम असार मसान्तसम्म चल्ने र पहिलो दिनको कार्यक्रममा ५९ जना सुत्केरी आमारुलाइ अनुदान वितरण गरिएको जनस्वास्थ्य निरीक्षक अधिकारीले बताए ।
खैरहनी–१० की कार्यबाहक वडा अध्यक्ष दुर्गा देवी आचार्यको अध्यक्षता भएको कार्यक्रममा खैरहनी नगरपालिकाकी कार्यबाहक मेयर तथा उपमेयर सुनिता थपलिया, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त न्यौपाने, स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी, शाखा उपप्रमुख रुद्रप्रसाद शर्मा, वडा नं १० र वडा नं ११ का जनप्रतिनिधी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा कार्यबाहक मेयर थपलियाले वडाको यस्तो कदमले घरमै हुने सुत्केरी न्यूनीकरण गर्न महत्वपूर्ण भुमिका रहने र आर्थिक राहत समेत मिल्ने बताइन् ।


























