एथलेटिक्स

भरतपुरको पर्यटकीय स्थलको प्रचारप्रसारको लागि भोलि खुला महिला दौड प्रतियोगिता हुने

Banner

चितवन, चैत १५-

तराई होलीको अवसरमा भरतपुरको गितानगरमा भोलि महिला दौड हुने भएको छ ।

लियो क्लब अफ गितानगर र योङ नेपालको संयुक्त आयोजनामा भरतपुर महानगरपालिका भित्रको पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिणकाली मन्दिरको प्रचारप्रसारको लागि लियो १२ औं महिला खुला दौड प्रतियोगिता हुन लागेको हो ।

तराई होलीको अवसरमा भोलि हुने दौडले कोरोनाका कारण ठप्प बनेको पर्यटकीय गतिविधि आन्तरिक पर्यटक मार्फत् चलायमान गराउने र स्थानीय पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको लियो क्लब अफ गितानगरका अध्यक्ष सञ्जिव ओझाले नारायणी अनलाइनलाई जानकारी दिए ।

‘पर्यटकीय स्थल बाटुली पोखरी र दक्षिकालीको प्रचारप्रसारका लागि म’ भन्ने नाराका साथ आयोजित दौड प्रतियोगिता वडा नम्बर ६ को दक्षिणकाली मन्दिरदेखि सुरु भएर भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको बाटुली पोखरीसम्म हुनेछ ।
झण्डै २ किमीको दौड प्रतियोगितामा प्रथम हुनेले हुनेले नगद चार हजार ४४४, द्वितीय हुनेले तीन हजार ३३३, तृतीय हुनेले दुई हजार २२२ र सान्तवना हुनेले एक हजार १११ रुपैयाँ सहित प्रमाणपत्र, मेडल, ट्रफी र परिवारसहित बाटुली पोखरीमा निःशुल्क डुंगा सयर गर्न पाउने कार्यक्रम संयोजक रेशम तिमिल्सिनाले जानकारी दिए ।

विगत ११ वर्षदेखि लियो क्लब अफ गितानगरले खेलकुद क्षेत्रको विकाससँगै चाडपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले लियो खुला दौड प्रतियोगिता गर्दै आएको हो । यस अघि पुरुष खुल्ला दौड प्रतियोगिता हुँदै आएको भए पनि क्लबले पहिलो पटक महिला दौड प्रतियोगिता आयोजना गरेको हो । ‘आन्तरिक पर्यटनको विकासको लागि महिलाको भूमिका महत्वपूर्ण हुन्छ, त्यसैलाई आत्मसाथ गर्दै हामीले महिला दौड गरेका हौ’ तिमल्सिनाले भने ।

सामुदायिक वनअन्तर्गत पर्ने दक्षिणकाली मन्दिर यहाँको आस्थासँगै धार्मिक पर्यटकीय केन्द्र हो । वाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिदत्त मिश्रका अनुसार २० हेक्टर क्षेत्रफलमा फैलिएको बाटुली पोखरी पश्चिम चितवनकै उत्कृष्ट पर्यटकीय स्थल हो । विभिन्न किसिमका चराचुरुंगी, गोहीलगायत सरिसृप प्राणीको बासस्थान यहाँ छ ।

बाघ, भालु, गैँडा, हरिण, बँदेल, जरायोलगायतका वन्यजन्तु पानी पिउन पोखरीमा आउने गरेका छन् । पर्यटकको लागि हात्ती सयर, डुंगा सयरको समेत व्यवस्था गरिएको छ । मिश्र यस्ता कार्यक्रमहरुले पर्यटकको संख्या बढाउनेमा विश्वस्त छन् । विश्व रामसार सूचीमा रहेको बिसहजारी तालनजिकै पर्ने यो क्षेत्र भरतपुरबाट करिब १२ किलोमिटर र सौराहाबाट सात किलोमिटरको दूरीमा छ ।

लियो क्लब अफ गितानगर र योङ नेपालको आयोजनामा हुने दौड कार्यक्रममा लायन्स क्लव अफ गितानगर, वाटुली पोखरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र दक्षिणकाली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सह–आयोजकको रुपमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>