Breaking News
अवश्य मर्नु पर्दछ !( साताको तीन कविता)
तिमी। सक्छौ?
म आँखा पुछेको तिमी छेक्न सक्छौ?
म छाती दुखेको तिमी देख्न सक्छौ?
यि कैयौं भिराला पखेराहरूमा,
म लड्दै गएथें तिमी टेक्न सक्छौ?
उदासीनता मा रमाई रमाई,
कथा जिन्दगीको तिमी लेख्न सक्छौ?
भरे के हुने हो कुनै ज्ञान छैन,
तुषारो परेमा तिमी सेक्न सक्छौ?
झरेका सदा छन् सिसा शीर माथि,
बिना शब्द केही तिमी थेग्न सक्छौ?
जिन्दगीको पाटो
यहाँ छैन कोही अगाल्ने मलाई
म रोएँ पिडामा समाल्ने मलाई।
खरानी बनेको जिवीतै भए नि
चिता भित्र जल्दै नियाल्ने मलाई।
अहो भाग्य कस्तो खुबै सास्ति लाइस्,
बनी काल रात्री सधैं नै सताइस्।
भएँ एक यस्तो नमिल्ने किनारा
मलाई लघारेर के नै कमाइस्रु
अवश्य मर्नु पर्दछ,
उठाइ शीर बाँच्न नै सुकर्म गर्नु पर्दछ
जुटाइ सास हाँस्न है सुवास छर्नु पर्दछ।
नछोड है कुनै यहाँ चरित्र नासिने कुरा,
भएर दाम हुन्छ के अवश्य मर्नु पर्दछ।
नमाति पुष्पले सदा पवित्र रङ्ग छर्दछ,
बसन्तले निमग्न भै मिठास खास भर्दछ।
लिएर दर्पका कुरा फुलेर उड्दछौ कति?
पिएर खै पियूष त्यो अवश्य मर्नु पर्दछ।
यता उता जता ततै खटेर कर्म गर्दछ,
खुवाउँदै छ भोकमा अनेक धर्म गर्दछ।
परन्तु रागमा जली स्वयम् खनेर खाडल,
परेर खूद नै त्यहाँ अवश्य मर्नु पर्दछ।
फसाइ शब्द जालमा कठै विवेक हर्दछ,
रमाउदै सवालमा चसक्क शूल दर्द छ।
नगन्दिने कतै कसै गरीब दीन हीनमा,
घमण्डको छ रापमा अवश्य मर्नु पर्दछ।
जिन्दगीमा
बाधा यहाँ अनेकौं झेल्नु छ जिन्दगीमा,
आशा सँगै भरोसा पेल्नु छ जिन्दगीमा।
फुल्दिन्छु फूल राम्रो मिल्छ भने सहारा ,
मिल्दैन साथ प्यारो जेल्नु छ जिन्दगीमा।
बोकेर जिर्ण काया दौडिरहेछु आज,
पापड् यहाँ अनेकौं बेल्नु छ जिन्दगीमा।
साह्रै छ यो सुकेको खङ्गरङ्ग आँत सारा,
ठूलो कुनै नदी नै हेल्नु छ जिन्दगीमा।
हारेर जित्नलाई चाह सबै डढाई
आगो सँगै लडेर खेल्नु छ जिन्दगीमा।
झिनो आश बसेको छ प्यारो जिन्दगीमा,
कतै सास फँसेको छ प्यारो जिन्दगीमा।
जिजीविषा बढेको छ कठिनाइ सँगै,
कुरा खास पसेको छ प्यारो जिन्दगीमा।
नियालेर कता हेरौं आँखा खोल्दिन भो,
मिठो गाँस खसेको छ प्यारो जिन्दगीमा।
धैर्य गरौं कतिसम्म समयलाई पर्खी,
न्यानो तास डसेको छ प्यारो जिन्दगीमा।
यस्तै त हो लक्ष्य भेट्न सक्छ कस्ले यहाँ,
कठै लास कसेको छ प्यारो जिन्दगीमा।
किन।?
किन खस्दछ आँशु नजानि कनै,
किन बिज्दछ तीर नहानि कनै?
मन हुन्छ तरङ्गित भाव भरी,
किन खोज्दछ साथ विलाप गरी।१।
किन आज रवी मधुरो छ यहाँ
किन आज छवी अधुरो छ यहाँ
न त खुल्छ कतै प्रतिविम्ब कुनै,
किन भुल्दछ चन्द्र चकोर छुनै।२।
किन भाव अभाव छ सिर्जनमा
किन राग विरक्त छ संगितमा
न भुलौं किन खास कटार मति
कि भुलौं यति प्रेरक दिव्य गति।३।
किन सम्पत्ति हुन्छ विराट यहाँ
किन जीवन बन्छ उराठ यहाँ
जब चंचल यी सरिता( वनिता,
किन हुन्छ असाध्य पिरो कविता।४।
मन छैन भने रसमा रसिलो,
तन छैन भने सुखमा हसिलो,
अब जीवनको बुझ सार गयो,
बुझ जीवन यो अब भार भयो।५।