चितवन विशेष
सेन्ट्रल मोडल कलेजमा पाँच दिने ‘डेटा व्यवस्थापन तथा आर स्टुडियो विश्लेषण’ कार्यक्रम हुने

भरतपुर, चितवन ।
भरतपुर–२ स्थित सेन्ट्रल मोडल कलेजको अनुसन्धान व्यवस्थापन कक्ष (Research Management Cell–RMC) को आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा पाँच दिने “Data Management and Analysis on R Studio Program” सञ्चालन हुने भएको छ। कार्यक्रम २०८३ जेठ २५ गतेदेखि २९ गतेसम्म कलेज परिसरमा सञ्चालन गरिनेछ।
शिक्षक तथा अनुसन्धानकर्ताहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थानका पूर्व डिन प्रा. डा. रामप्रसाद खतिवडा तथा वरिष्ठ अनुसन्धानविद् प्रा. डा. विजयलाल प्रधान प्रमुख प्रशिक्षकका रूपमा सहभागी हुनेछन्।
कार्यक्रममार्फत सहभागीहरूलाई R Studio सफ्टवेयर प्रयोग गरी डेटा व्यवस्थापन, तथ्याङ्कीय विश्लेषण तथा अनुसन्धान प्रतिवेदन तयारीसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक प्रशिक्षण प्रदान गरिने जनाइएको छ।
कार्यक्रमबारे जानकारी दिँदै कलेजका प्राचार्य तथा अनुसन्धान व्यवस्थापन कक्ष (RMC) का प्रमुख डा. टिकाराम चालिसे ले अनुसन्धानमूलक शिक्षा, गुणस्तरीय प्रकाशन तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। उहाँले शिक्षक तथा अनुसन्धानकर्ताहरूलाई आधुनिक अनुसन्धान प्रविधिसँग जोड्दै अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्न कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको व्यवस्थापन तथा समन्वयमा अनुसन्धान व्यवस्थापन कक्ष (RMC) का सदस्यहरू प्रा. डा. बसन्त प्रसाद अधिकारी, डा. मधुसूदन लमिछाने तथा गोपाल ढकाल सक्रिय रूपमा संलग्न रहेका छन्। प्रा. डा. बसन्त प्रसाद अधिकारीले यस्ता कार्यक्रमले अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्ने बताउनुभयो भने डा. मधुसूदन लमिछानेले आधुनिक डेटा विश्लेषण सीप विकासमा कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।
सेन्ट्रल मोडल कलेजले अनुसन्धान, जर्नल प्रकाशन, सेमिनार, कार्यशाला तथा अन्य शैक्षिक गतिविधिमार्फत अनुसन्धान संस्कृतिको विकासमा विशेष जोड दिँदै आएको छ। आगामी जेठ २५ गतेदेखि सुरु हुने यो पाँच दिने कार्यक्रमले सहभागीहरूलाई अनुसन्धानमा प्रयोग हुने आधुनिक तथ्याङ्कीय विश्लेषण उपकरणहरूको प्रभावकारी प्रयोगबारे ज्ञान तथा सीप प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागिताका लागि चितवन, नवलपरासी लगायत विभिन्न जिल्लाका कलेजहरूमा औपचारिक पत्राचार गरिएको कलेजले जनाएको छ। कुनै कारणवश निमन्त्रणापत्र प्राप्त नभएको अवस्थामा यसै सूचनालाई आधार मानी इच्छुक शिक्षक तथा अनुसन्धानकर्ताहरूले आफ्नो नाम दर्ता गराउन तथा थप जानकारीका लागि सेन्ट्रल मोडल कलेज प्रशासन वा कार्यक्रम संयोजन टोलीसँग सम्पर्क गर्न सक्नेछन्। सम्पर्कका लागि मोबाइल नं. ९८५५०५२५०५ तथा टेलिफोन नं. ०५६–४९४१७९ मा सम्पर्क गर्न अनुरोध गरिएको कलेजले जनाएको छ।
























