चितवन विशेष
दृष्टिविहीन विद्यार्थी अध्ययनका लागि बनाइएको अक्षयकोषमा एक लाख सहयोग

चितवन, चैत १०-
दृष्टिविहीन विद्यार्थीको अध्ययनमा खर्च गर्नेगरी अक्षयकोष निर्माण गर्न नारायणगढको एभरेष्ट साकोससहित व्यक्ति तथा संस्थाले एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
अक्षयकोषबाट प्राप्त आम्दानी चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुका लागि खर्च गर्ने गरी रकम प्रदान गरिएको कार्यक्रम संयोजक अनुषा चुकेले बताइन् ।
एभरेष्ट बचत तथा ऋण सहकारीको १३औँ स्थापना दिवसको अवसर पारेर सहकारीको तर्फबाट २५ हजार रुपैयाँ प्रदान गरिएको चुकेले बताइन् । सहकारीले बर्सेनि वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गर्दै आएको संयोजक चुकेले बताइन् । त्यस्तै, बाँकी ७५ हजार रुपैयाँमध्ये ५० हजार रुपैयाँ नारायणी मोटर्स र २५ हजार रुपैयाँ लायन्स क्लब अफ नारायणगढ बालकुमारीले प्रदान गरेको क्लबका पूर्वअध्यक्ष एवम् नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताए । मंगलबार नारायणी नमूना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापालाई रकम प्रदान गर्दै चुकेले सो रकम अक्षयकोषमा जम्मा गर्न आग्रह गरे । विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको लागि आवश्यक पर्ने रकम विभिन्न संघसंस्थाले दिने गरेकोमा अक्षयकोष निर्माणबाट केही भए पनि राहत मिल्ने चुकेले बताए ।
बालबालिकाको शिक्षामा प्रभाव नपरोस् भन्ने हेतुले अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरिएको भन्दै चुकेले आगामी दिनमासमेत सहयोगले निरन्तरता पाउने बताए । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले विद्यालयमा ३२ जना दृष्टिविहीन तथा २३ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत भएको बताए । विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको विद्यालयको छात्राबासमा बस्दै आएका भए पनि बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु भने आफ्नै घरमा जाने गरेको थापाले बताए । दृष्टिविहीन विद्यार्थीहरुले ब्रेल लिपीबाट पढ्न पाउने भए पनि उनीहरुले परीक्षा दिँदा सहयोगी राख्नुपर्दा समस्या हुने गरेको थापाको भनाइ थियो ।
























