चितवन विशेष

भरतपुरको जखडीमाई मन्दिरमा फागु पूर्णिमा मेलालाई व्यवस्थित गर्न समिति गठन

Banner

चितवन, चैत ८-

भरतपुर महानगरपालिका–११ जखडीमाई टोलमा रहेको ऐतिहासिक जखडीमाई मन्दिरमा फागुु पूर्णिमाको अवसरमा लाग्ने विशेष पूजा तथा मेलालाई व्यवस्थित गर्न पूजा व्यवस्थापन समिति गठन गरिएको छ ।

शनिबार मन्दिर परिसरमा भएको भेलाले जखडीमाई टोल विकास संस्थाकी सहसचिव कमला गौतमको संयोजकत्वमा पूजा व्यवस्थापन समिति गठन गरेको हो ।

समितिको सदस्यहरुमा टोल विकास संस्थाकी अध्यक्ष कमला अर्याल, सचिव मनोज अर्याल, आमा समूहकी अध्यक्ष रश्मी पोख्रेल, कमल खडका, बद्री वाग्ले, रचना ढकाल, मनिष अमगाई, विपिन रानामगर, सृष्टी गर्ताैला, सुष्मिता श्रेष्ठ, वमबहादुर आले मगर, धनकुमारी सापकोटा, रामबहादुर श्रेष्ठ, मंगल तामाङ, विशाल लामा र सरस्वती ढकाल रहेका छन् । त्यस्तै भेलाले प्रकाशचन्द्र भट्टराईको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरेको छ ।

सो भेलामा जखडीमाई टोल विकास संस्थाकी अध्यक्ष कमला अर्यालले जखडीमाई मन्दिर ऐतिहासिक तथा धार्मिक महत्वको रहेको हुँदा प्रत्येक वर्ष फागुपूर्णिमामा यस मन्दिरमा विशेष पूजा तथा मेला लाग्ने हुँदा सबै टोलवासीले उक्त मेलालाई व्यवस्थित गर्न सहयोग गर्नुपर्ने बताइन् । जखडीमाई मन्दिरको उचित प्रचार प्रसार गर्न सकेमा यस क्षेत्रकै विकास हुने भन्दै अध्यक्ष अर्यालले सबै टोलबासीले उक्त मेलालाई भव्य, प्रभावकारी र व्यवस्थित गर्न सहयोग गर्नुपर्ने अनुरोध गरिन् ।

पूजा व्यवस्थापन समितिकी अध्यक्ष कमला गौतमले फागुपूर्णिमा मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन माइकिङ, प्रचारप्रसार, मन्दिरको सरसफाइ, ध्वजापताकाले सिंगार पटारको काम गरिने बताइन् । सबै टोलवासी र पूजा व्यवस्थापन समितिलाई परिचालन गरी सबै भक्तजनले सहजरुपमा मन्दिरमा पूजा गर्न सक्ने व्यवस्था मिलाइने बताइन् । मन्दिर परिसरमा पशुपन्छी बली दिनकोलागि नयाँ मौलो स्थापना पनि सोही दिन गरिने अध्यक्ष गौतमले जानकारी दिइन् ।

जखडीमाई टोल विकास संस्थाका सचिव मनोज अर्यालले जखडीमाई मन्दिर ऐतिहासिक र धार्मिक रुपमा निकै प्रख्यात भए पनि यसको उचित प्रचारप्रसार नहुँदा अझैसम्म ओझेलमा परेको बताए । फागु पूर्णिमामा लाग्ने मेलामा हजारौं भक्तजन उपस्थित हुने हुँदा उक्त मेलाको व्यवस्थापन गर्न जिम्मेबारी टोल विकास संस्था र सबै टोलबासीको भएको अर्यालले बताए ।

फागु पूर्णिमा तथा होली पर्वमा जखडीमाई मन्दिरमा अघिल्लो दिन साँझदेखि नै मेला लाग्ने गर्छ । फागुपूर्णिमाको अवसरमा अघिल्लो साँझदेखि नै महिलाहरु जाग्राम बसी जखडीमाई देवीको नाममा दीप प्रज्वलन गर्ने गर्छन् । होलीको दिन मन्दिरमा बली दिनेको भीड पनि लाग्ने गर्छ ।

यस मन्दिरमा परापूर्व कालदेखि नै कुमाल समुदायले कुल देवीको रुपमा पुज्ने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । उक्त स्थानमा मन्दिर निर्माण हुनु अघि नै सालको रुखको फेँदमा ढुंगाको मूर्ति रहेको र त्यसलाई नै पूजा गर्ने गरिन्थ्यो । मन्दिरको निर्माणपछि व्यस्थितरुपमा पूजा गर्न थालिएको हो । मन्दिरमा भाकल गरेपछि पूरा हुने जनविश्वास रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>