खेलकुद

चितवनमा चैत १२ देखि ‘स्व.विजय खड्गी स्मृति गोल्डकप’ फुटबल हुँदै

Banner

चितवन, फागुन २९–

चितवन जिल्ला फुटबल संघको आयोजनामा ‘स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७’ हुने भएको हो । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आज (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्याराफिट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । सो प्याराफिटमा ३ हजार दर्शक क्षमताको हुनेछ ।

खेलाडी र खेलाडीको परिवारको साथमा संघ सधैं छ भन्ने सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । प्रतियोगिताबाट बचेको रकम स्वर्गीय विजयको छोराको अध्ययनका लागि सहयोग गरिने उहाँले बताउनुभयो ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर १३ र अण्डर १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । एन्फामा पनि उनले राम्रो छाप छोडेका थिए । तर कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका उनको ३२ वर्षको उमेरमा निधन भएको थियो । विजयको एक छोरा छन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका संचार संयोजक रामहरि ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा चितवनका दुईसहित हेटौंडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख तथा उपबिजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

खेल हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ । क्वाटरफाइनलसम्मका खेलका लागि टिकट शुल्क ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ । टिकट खरिद गर्ने मध्य प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्न सक्ने पनि आयोजकले जानकारी दिएको छ ।

प्रायोजकको तर्फबाट बोल्दै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञबिलास पौडेल (वाइबी) ले जिल्लाको फुटबल बिकासका लागि सधैं सहकार्य गर्न आफुहरु तयार रहेको बताउनुभयो । उहाँले अहिले पनि फुटबलका विभिन्न गतिविधिमा सेन्ट्रल कलेजले सहयोग गरिरहेको बताउनुभयो ।

यसैबीच चितवन जिल्ला फुटबल संघका सल्लाहकार एबं युवा व्यवसायी मिलन भट्टराई र उहाँकी श्रीमती सुनिता न्यौपाने भट्टराईले प्रतियोगितामा नाफा नभए स्व.खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै प्रतियोगिता सम्पन्न गर्नका लागि उहाँहरुले नगद ३ लाख रुपैयाँ सहयोग समेत गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>