देश/प्रदेश

राकम अस्पतालका लागि २८ रोपनी जग्गादान

Banner

कर्णाली, ११ फागुन रासस-

दैलेख आठबिस नगरपालिका–३ कुमालखाँडावासीले १०० श्ययाको अस्पतालका लागि २८ रोपनी जग्गादान गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्तरुपमा व्यवस्थापन हुने १०० श्ययाको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीयवासीले २८ रोपनी जग्गादान गरेका हुन् । ट्रमा सेवासहितको अस्पतालका लागि ४० रोपनी क्षेत्रको जग्गा आवश्यक भएकामा २८ रोपनी निःशुल्क प्राप्त भई बाँकी जग्गा लिन थोरै कागजी प्रक्रिया नमिलेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका निर्देशक धर्मराज गोसार्ईंले जानकारी दिनुभयो ।

“प्रतिष्ठान र नगरपालिकाको पहलमा यही फागुन १० गते जग्गादान गर्नेहरुबाट अस्पतालका नाममा जग्गा पारित भएको छ”, निर्देशक गोसाईंले भन्नुभयो, “प्रतिष्ठानले एकजना मेडिकल अधिकृत पठाएर हाल स्वास्थ्य सेवा पनि दिइरहेको छ ।” जुम्ला प्रतिष्ठानले विशेषज्ञ अस्पताल निर्माण गरेर गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने ध्येयले राकम कर्णालीमा यो कार्य थालिएको उहाँले बताउनुभयो ।

निर्देशकका अनुसार राकम कर्णालीमा अस्पताल निर्माणार्थ डिपिआर तयारीका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलयाले चालू आवमा रु एक करोड बढी बजेट विनियोजन गरिसकेको छ । अस्पताल निर्माणका लागि नगरपालिका र प्रतिष्ठानबीच विसं २०७६ फागुन १० गते सम्झौता भएको थियो ।

राकम अछाम, कालीकोट र दैलेखको ट्रान्जिट भएकाले यहाँ प्राप्त हुने सेवाको लाभ तीन जिल्लाका जनताले लिने सो नगरपालिकाका गगन कार्कीले जानकारी दिनुभयो । कार्कीले अस्पतालका लागि अब १३ रोपनी एकजना व्यक्तिले निःशुल्क दिने कागज गरिसकेको तर उक्त जग्गा नापी जाँदा छुट भई सम्बन्धित व्यक्तिको नाम नआएकाले तत्काल उनको नाममा ल्याएर अस्पतालको नाममा पास गरिने बताउनुभयो ।

उहाँका अनुसार पदम बडुवाल, पहराम, मदन, मन परे कार्कीलगायत व्यक्तिले जग्गदान गरेर यस क्षेत्रका नागरिकहरुका लागि ठूलो योगदान दिएका छन् । यता नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख देवराज तिमिल्सेनाले अब सानो रोग लागेर सुर्खेत नेपालगञ्ज जाने बाध्यताबाट यहाँका नागरिकहरुले मुक्ति पाउने बताउनुभयो ।

केही वर्षभित्रै राकमबाटै नागरिकहरुले गुणस्तरीय स्वास्थ्य उपचार सेवा लिन पाउने उहाँको भनाइ थियो । अस्पताल निर्माण हुँदै गरेको राकम कर्णालीलाई पछिल्लो समयमा नयाँ शहरका रुपमा विकास गर्न लागिएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>