चितवन विशेष
चितवनका प्रहरी प्रमुख अधिकारीलाई पूर्वप्रहरीको स्वागत

चितवन, फागुन ८-
चितवनका प्रहरी प्रमुख ओम अधिकारीलाई आज चितवनमा स्वागत गरिएको छ ।
नेपाल पूर्वप्रहरी संगठन चितवनले जिल्लामा सरुवा भई आएका प्रहरी प्रमुख अधिकारीलाई स्वागत गरेको हो ।
संगठनका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक अधिकारीले बहालमा रहेका प्रहरी र सेवा निवृत्त प्रहरी एउटै परिवार भएकोले आफूसँग प्रहरीको बर्दी नभएको भन्ने नसोची आआफ्नो स्थानमा रहेर प्रहरीलाई अपराध नियन्त्रणमा सहयोग गर्न अनुरोध गरे । उनले भने, ‘चितवनमा हुन सक्ने सम्भावित अपराध नियन्त्रण तथा घटित अपराधको सफल अनुसन्धान गर्ने कार्यमा सदा समर्पित रहिरहन र बहालमा रहेका प्रहरीलाई आवश्यक सूचना संप्रेषण गरी सहयोग गर्नुपर्छ ।’
चितवनका पाँचवटै इकाइका नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहणसमेत गराइएको उक्त कार्यक्रममा संगठनका सल्लाहकार सन्तोष पन्तले संगठनका गतिविधि, पूर्वप्रहरीको यथार्थता र अपेक्षाबारे प्रकाश पार्दै स्वागत मन्तव्य राखेका थिए ।
























