Breaking News

परिवार र समाजले बहिष्कार गरेपछि यौन पेसामा तेस्रो लिङ्गी

Banner

मनिका विश्वकर्मा

चितवन, फागुन २ –

‘बिहानै उठ्ने बित्तिकै म कसरी केटी जस्तो देखिन सक्छु भन्ने चिन्ता बढी हुन्छ’ तेस्रो लिङ्गी महिला भन्छिन्, ‘बिहानदेखि आफूलाई मान्छेले के भन्लान् भन्ने चिन्ता बढी हुन्छ ।’ माकुराको जालहरु कोठाका भित्ताका कुनाकाप्चामा देखिन्छ । कोठाको वरपर श्रृङ्गारका सामानहरु र ऐना छरपस्ट छन् । उनी एकछिन मोबाइल चलाउँदै हुन्छिन् । फेसबुकमा फोटो पोस्टाउँदै आज कति कमेन्ट लाइक आएछ भनेर मोबाइल काठमा राख्दै खाना बनाउने सुरसार गर्छिन् ।

खानपिन सकेर जुठा भाँडाहरु माझेर घाममा सुकाउँछिन् । एकछिन उनी रातो तन्ना ओछ्याएको खाटमा पल्टिन्छिन् । उनको दैनिकी पनि आम मानिसको जस्तै छ । यसोउसो गर्दा साँझको ५ बज्छ । उनी भन्छिन्, ‘साँझ पनि भयो तरकारी पकाएर जानुपर्ला, भात चाहीँ फर्किएर आएपछि पकाउँछु । के हुन्छ आज खै पैसा कति कमाइ होला ?’ यसो भन्दै उनी ग्याँस चुलो राखेकोतिर जान्छिन् तेल पनि सक्किएको हुन्छ, खुर्सानी, तरकारी पनि सक्किएको हुन्छ ।

ब्यागमा पैसा हेर्दै उनी भन्छिन्, ‘२०० मात्रै रहेछ यो त बेलुका चाहिन्छ ।’ गर्भनिरोधक अस्थायी साधन पनि एक पिस मात्रै हुन्छ । उनी आतुर हुँदै भन्छिन्, ‘आज त राम्री भएर जान्छु । ग्राहक पनि बढ्ला आज त एउटा पिसले त पुग्दैन होला । अलि धेरै चाहिन्छ ।’ भन्दै उनी कोठा नजिकको पसलमा गएर तरकारी उधारोमा किनेर बेलुका आएको पैसाले तिरिदिने भनी उनी कोठामा फकिन्छिन् । त्यसपछि उनी गाजल, लिपिष्टिक लगाउँदै कपालमा रातो रङ्गको रबर लगाउँछिन् ।

लुगा मिलाउँदै उनी त्यो टेबलमा भएको घर्राको एक पिस अस्थायी साधन ब्यागमा राखेर कोठामा ताल्चा लगाएर बाहिर निस्कन्छिन् । बाहिर आएर कामनाले आफूसँग भएको १०० रुपैयाँले चार पिस अस्थायी साधन किनेर अटो चढेर नारायणगढको बजारतिर लाग्छिन् । बजारको नजिकै जहाँ सवारीसाधनहरु आफ्नै सुरमा गुडिरहेका छन् । मान्छेहरु आफ्नो ड्युटी सकेर घर फिर्दै छन् । त्यसैको नजिकतिर अँध्यारो स्थान छ । जहाँ दिउँसो नै पसलहरु बन्द हुने गर्छन् । त्यहीँ कामना पनि आइपुग्छिन् ।

कामनाको दैनिकी यस्तो हुन थालेको तीन वर्ष भयो । उनको उमेर पनि ३८ वर्ष भइसक्यो । उनको घर पर्वत हो । चितवन आउनुमा उनको छुट्टै वास्तविकता लुकेको छ । उनी चितवन झरेको १५ वर्ष भयो । घरमा बुबा एक्लै भएर उनको बिवाह गरिदिन लागेका थिए । ‘तर आफूलाई केटी भन्दा केटा मनपर्ने भएकोले मैले बिहे नगर्ने भनेर चितवन भागेर आएको हुँ ।’ उनले भनिन् ।

कामना सानोमा पुरुष भएर जन्मेकी थिइन् । पुरुष भए पनि उनलाई केटाको जस्तै परिचित हुन, केटीको जस्तै श्रृङ्गार गर्न मन लाग्थ्यो । तर, उनका परिवार र समाजलाई यी कुराहरु पाच्य नभएपछि उनी चितवन आएको बताउँछिन् । उनी सम्झिँदै भन्छिन्, ‘मैले चितवन आएपछि धेरै काम खोज्दा पनि नपाएपछि नारायणगढको एउटा होटेलमा काम गरेँ । त्यहाँ मैले भाँडा माझ्ने काम गर्थेँ ।’ होटेलमा पनि उनलाई केटा भएर केटी जस्तो भएको भनेर गाली बेइज्जत गर्न थालेपछि उनले आफू जस्तै साथीहरु फेला पारेको बताइन् ।

‘होटेलका स्टाफ, ग्राहकले केटी जस्तै भएर हिँड्ने भनेर ‘छक्का, हिजडा’ भन्ने गर्थे । मलाई असाध्यै रिस उठ््थ्यो’ उनले भनिन् । काम खोज्नको लागि उनले साथीलाई आग्रह गरिन् । तर, उनीहरुले आफूलाई यौन व्यवसाय गर्न भनेको उनले भन्दै उनले सुनाइन्, ‘पहिलो पटक यसरी काम गर्दा मलाई मन लागेन । डर लाग्यो । असजिलो लाग्यो । यस्तो काम गर्दिनँ भनेर मैले फेरि कुनै होटेलमा भाँडा माझ्ने काम गरेँ । त्यहाँ पनि मलाई झन् बढी गाह्रो भयो । त्यहाँबाट पनि निकालिदिएपछि म फेरि यौन व्यवसायमा नै फर्किएँ ।’

पहिला यौन व्यवसाय गर्दा उनको एक, दुई जना मात्रै ग्राहक हुने उनले बताइन् । यौन व्यवसाय पनि ज्यानको जोखिम मोलेर लुकीछिपी गर्नुपर्ने भन्दै उनले भनिन्, ‘पछि बानी भएपछि यो काम गर्न सहज भयो ।’ बिस्तारै ग्राहकहरु पनि बढ्दै गए । कुनै बेला त प्रहरीले पनि समात्यो । कहिले आबारा केटाबाट कुटाई खानुपर्छ ।’ अहिले उनको कमाइ दिनको एक हजार हुन्छ । त्यही कमाइले नै बिहान बेलुका छाक टार्नुको साथै घरभाडा तिर्ने उनले बताइन् ।

त्यस्तै परिवार र समाजले बहिष्कार गरेपछि यौन पेसामा लागेकी रमना (नाम परिवर्तन) भन्छिन्, ‘घरतिर सबैले जिस्काएर पढ्न पनि छोडिदिएको थिएँ । त्यसपछि अति भएपछि चितवन आएँ ।’ उनको घर बुटवल हो । चितवनमा अल्पसङ्ख्यक यौनिक तथा लैङ्गिक समुदायको सबै भन्दा कान्छी हुन् रमना । उनको उमेर १८ वर्ष भयो । घरपरिवारले स्वीकार नगरेपछि यसरी यौन पेसामा लागेको रमनाले बताइन् । रमनालाई पनि आफू तेस्रो लिङ्गी हो भन्ने कुरा कक्षा सातमा पढ्दा खेरी मात्रै थाहा भयो ।

सानै उमेरको भएकोले पनि उनको ग्राहक धेरै नआउने गरेको भन्दै उनी भन्छिन्, ‘सुरुमा त मलाई डर लाग्थ्यो । अप्ठ्यारो लाग्थ्यो । पछि पछि अलि सहज भएको हो । केही विकल्प नपाएपछि मैले यो पेसा अपनाएको हुँ । खानु परेपछि केही त गर्नुप¥यो । अरु जागिर पनि पाइँदैन ।’

मानव सचेत समाज चितवनका कार्यक्रम संयोजक देव श्रेष्ठकाअनुसार परिवार, समाज र राज्यले कुनै रोजगारको अवसर सिर्जना नगरिदिँदा उनीहरु यसरी यौन पेसामा आवद्ध भएका हुन् । घर–समाजले साथ सहयोग नगर्दा आर्थिकरूपमा कमजोर हुँदा उनीहरु यौन पेसामा लागेको श्रेष्ठले बताए । आफ्नो संस्थाले पनि उनीलाई यौन पेसामा लाग्न वा नलाग्न केही भन्न नसक्ने श्रेष्ठको भनाइ छ । कानुनीरूपमा पनि नेपाल सरकारले यस समुदायका मानिसबीचमा हुने विवाहलाई मान्यता नदिँदा वैवाहिक जीवनबाट टाढा रहेकाहरू आत्मसन्तुष्टि र अवसरबाट बञ्चित भएकाहरू जीविकोपार्जनका लागि यौन पेसामा लागेको श्रेष्ठले बताए ।

चितवनमा ३७५ जना तेस्रो लिङ्गीहरु रहेको र जसमा ७० जना जति यौन पेसामा आवद्ध हुने श्रेष्ठले जानकारी दिए । दुई वर्षअघि चितवनमा यौन पेसामा आवद्ध रहेकी एक तेस्रो लिङ्गीको फलामको रडले हानेर हत्या गरिएको समेत उनले बताए । तेस्रो लिङ्गीलाई यौन पेसामा लाग्न जोखिम नै रहेको श्रेष्ठको बुझाइ छ ।

निलहिरा समाजको अध्यक्ष पिङ्की गुरुङले यौन पेसालाई प्रोत्साहन पनि गर्न नसक्ने र नियन्त्रण पनि गर्न नसक्ने बताइन् । नेपालमा तेस्रो लिङ्गीको सङ्ख्या नौ लाख रहेको र जसमा अझै खुलेर नआएको उनले बताइन् । बेरोजगारी र समाजको बहिष्कारले गर्दा उनीहरु यसरी यौन पेसामा आवद्ध भएको गुरुङको भनाइ छ । यौनिक तथा अल्पसङ्ख्यक समुदायहरुको आत्मनिर्भरताको लागि निलहिरा समाजले सीपमूलक तालिमहरु दिइरहेको छ ।

यस समुदायको मुद्दाहरु पाठ्यक्रममा पनि राख्न शैक्षिक विभागसँग छलफल भइरहेको उनले जानकारी दिइन् । नेपालको जनगणनामा पनि यस समुदायको तथ्याङ्क आउन नसकेको उनको गुनासो छ । यस समुदायको अधिकार सुनिश्चित भए मात्रै यौन पेसालाई नियन्त्रण गर्नसक्ने उनले बताइन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>